समाचार

धनकुटामा दुर्घटनापछि ट्रकमा लाग्यो आगो : जलेर चालककाे मृत्यु

१२ साउन, धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका –०४ फलामेटार स्थित तमोर-करिडोर सडक-खण्डमा ब्रेक फेल भएर दुर्घटना भएपछि ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।

विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ९ट्रक० ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

ट्रकको अगाडिको भागमा लागेको आगोमा परी चालक भोजपुरका ३० वर्षीय विशाल राई ट्रकबाट बाहिर निस्किए पनि जलेर मृत्यु भएको छ ।

दुर्घटनामा ट्रकका सह-चालक जिल्ला तेह्रथुम, म्याङ्लुङ नगरपालिका –०९ निवासी १८ वर्षीय सञ्जीव सङ्गौला भने सकुशल रहेका छन् । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।