पु.समाचार

शंकर पोख्रेललाई सर्वसाधारणको प्रश्न,‘नेताज्यू, अझै पनि गल्ती स्वीकार्नुहुन्न ?’

काठमाडौं । एमाले नेता शंकर पोखरेलले मंगलबार बिहान मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ भनेर ट्विट गरेका थिए ।आमसर्वसाधारणले मात्र होइन एमालेकै कार्यकर्ताले समेत चर्को आलोचना गरेपछि उनले आफ्नो ट्विट डिलिट त गरे, तर माफी मागेका छैनन् ।

उनले माफी माग्नुपर्छ भन्दै उनकै फेसबुक र ट्विटर एकाउन्टमा धेरैले माग गरेका छन् । आफूले गरेको ट्विटको गलत अर्थ लगाइएको भन्दै पोखरेलले दोस्रो ट्विट गरेका थिए ।

तर, मधेसीलाई कालो भनेर अपहेलना गरेकोमा धेरैले उनलाई सामाजिक सञ्जालमा सोधेका छन्, ‘नेताज्यू, अझै पनि गल्ती स्वीकार्नुहुन्न ?’
पहिलो ट्विट डिलिट गरेर अर्कोमा प्रस्टीकरण मंगलबार बिहान ९:४१ बजे मधेसीलाई ‘कालो वर्ण’को भनेर ट्विट गरेका नेता पोखरेलले सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि ट्विट डिलिट गरे ।

उनले साँझ ७:५४ बजे आफ्नो बचाउ गर्दै अर्को ट्विट गरे । उनले लेखे, ‘कालोलाई विरोधको प्रतीक बनाउने कुरा रंगभेदवादी युरोपियन चिन्तन परम्परासँग जोडिएको अर्थमा त्यसको विरोध गरेको हुँ ।

गलत अर्थ लगाएपछि हटाएको (अघिल्लो ट्विट) हुँ ।’ पोखरेलले यस्तो जवाफ लेखे पनि उनको सामाजिक सञ्जालमा आलोचनाको क्रम रोकिएको छैन भन्दै बिहीबारको नयाँ पत्रिका दैनिकमा समाचार लेखिएको छ ।