पु.समाचार

दशैंका लागि पनि भारतबाटै आउँदा रहेछन् बढी खसी–बोका !

काठमाण्डौ । दशैंका लागि व्यवसायीले करिब ६५ करोड मूल्यका खसी–बोका राजधानी ल्याउने तयारी थालेका छन् । त्यसमध्ये करिब ५० हजार खसी–बोका भारतबाट आयात र बिक्री हुने व्यवसायीको भनाइ छ।

चौपाया खरिद–बिक्री सेवा संघका संरक्षक दीपक थापाले दसैँमा भारतीय खसी धेरै आयात हुने जानकारी दिए ।

उनले भने, ‘यसपटक तुलनात्मक रूपमा धेरै भारतीय खसी आयात हुनेछन् ।’ संघमा करिब तीन सय व्यवसायी आबद्ध छन् ।

ती व्यवसायीले भारतका विभिन्न बजारबाट खसी–बोका आयात गर्नेछन्। दसैँमा करिब १५ करोडका खसी–बोका मुलुकभित्रकै अन्य जिल्लाबाट राजधानीमा ल्याउने तयारी गरिएको भन्दै आइतबारको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

भारतबाट साताको दुईपटक आइतबार र बिहीबार २० गाडी खसी–बोका आयात भइरहेको छ । एउटा गाडीमा २ सयदेखि २ सय ५० वटासम्म खसी–बोका अट्छन् ।

फूलपातीको आसपास पुगेपछि ५ दिनसम्म प्रत्येक दिन दैनिक २० गाडीका दरले आयात हुने संघका अध्यक्ष गोविन्द पाठकले जानकारी दिए ।
‘दसैँमा मागअनुसार खसी–बोका आपूर्ति गर्न सबै व्यवसायी तयार भएर बसेका छौँ,’ उनले भने ।