खेलकुद

रियो ओलम्पिकमा यत्रो खर्च, तर उपलव्धी सून्य

काठमाण्डौ । ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१ औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपाली टोलीको कुल खर्च एक करोड १६ लाख ६४ हजार रुपैयाँ भएको देखिएको छ। तर, नेपाल ओलम्पिक कमिटी (एनओसी) ले रियो ओलम्पिकमा आफूहरूको ९८ लाख ६४ हजार रुपैयाँ मात्र खर्च भएको दाबी गरेको छ ।

२९ सदस्यीय नेपाली टोली रियो ओलम्पिकमा सहभागी भएको थियो । टोलीमा सेभ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव, सात खेलाडी, पाँचै खेलका पाँच प्रशिक्षक, दुई खेलकुद पत्रकार र बाँकी १२ जना एनओसीकै पदाधिकारी थिए ।

एनओसीको बुधबार बसेको बैठकमा कोषाध्यक्ष रतनकुमार टण्डनले रियो ओलम्पिकको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २९ जनाका लागि ९८ लाख ६४ हजार रुपैयाँ खर्च भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख रहेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

यद्यपि प्रतिवेदन बुझाए पनि कोषाध्यक्ष टण्डनले केही खुलाउन चाहेनन् भने अध्यक्ष जीवनराम श्रेष्ठले सबै जानकारी टण्डनसँग रहेको बताए । परिषद्ले रियो ओलम्पिकका लागि १८ लाख बजेट छुट्याएको थियो । ‘परिषद्ले रियो ओलम्पिक शीर्षकमा १८ लाख बजेट छुट्याएको थियो,’ परिषद्को आर्थिक विभाग स्रोतले बतायो ।

काठमाडौंदेखि रियो दी जेनेरियोसम्मको दुईतर्फी टिकटका लागि एनओसीले लगभग ४४ लाख खर्चेको स्रोतले बतायो । सदस्यसचिव केशवकुमार विष्ट, सात खेलाडी र पाँच प्रशिक्षकको खर्च आफूहरूले नै गरेको परिषद्को उच्च स्रोतले जानकारी दिएको छ । ‘रियोमा परिषद्ले नै सदस्यसचिव, खेलाडी र प्रशिक्षकको टिकटदेखि दैनिक भत्तासम्म उपलब्ध गराएको थियो,’ स्रोतले भन्यो ।

एनओसीले आफ्ना पदाधिकारीलाई दैनिक ४० डलर भत्ता दिएको थियो । एनओसीले खेलाडी र प्रशिक्षकलाई भत्ताका रूपमा जनही ३२ हजार रुपैयाँ दिएको थियो । भिलेजमा बसेको दिनका आधारमा पदाधिकारीले दैनिक भत्ता बुझेका थिए ।

एनओसीले दुई खेल पत्रकारलाई पनि दैनिक भत्ता उपलब्ध गराएको थियो । यसैगरी, परिषद्ले खेलाडी र प्रशिक्षकलाई भ्रमणका लागि २५ हजार नौ सय र डाइटका लागि १३ हजार रुपैयाँ प्रदान गरिएको बताउँदै बिहीबारको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।