खेलकुद

माहिका र माहिंकाले चुमे उपाधि

काठमाण्डौ । ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगितामा जुम्ल्याहा दिदी मायांका र बहिनी माहिका राणाको जोडीले प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको महिला डबल्स उपाधि जितेको छ ।

तीन जोडी सहभागी राउन्ड रोविन लिगको अन्तिम खेलमा जुम्ल्याहा जोडीले विभूति कार्की र विजिशा श्रेष्ठको जोडीलाई सोमबार ६–३ र ६–३ को सोझो सेटमा पराजित गरेपछि उनीहरुले सो उपाधि जितेका हुन् ।

प्रतियोगितामा राउन्ड रोविनको समाप्तिसँगै इरा रावत र अभिलाषा विष्टको जोडी दोश्रो हुन् सफल भए । सो प्रतियोगितामा अघिल्लो दिन उक्त जोडीले विभूति र विजिशालाई नै हराउन सफल भएका थिए ।

सो प्रतियोगितामा महिला सिंगल्स उपाधिका लागि मायांका र इरा भिड्ने तयारीमा रहेका छन् । सेमिफाइनलमा मायांकाले बहिनी माहिकालाई ६–०, १–६ र ६–० ले हराएकी थिइन् भने इराले भगवती विकलाई ६–२ र ६–१ ले हराएकी थिइन् । प्रतियोगिता सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको छ ।

प्रतियोगितामा पुरुष डबल्समा कमल भण्डारी र श्रीराम मगरको जोडीले सन्तोष खत्री र आत्माराम कार्कीको जोडीलाई ७–६ र ६–४ तथा महेश श्रेष्ठ र संरक्षकभूषण बज्राचार्यको जोडीले अनिल शाही र शक्ति शर्माको जोडीलाई ६–३ र ६–४ को सेटमा पन्छ्याउदै उपाधि भिडन्तको लागी बाटो पक्का गरेका छन् ।

पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्यले श्रीराम मगरलाई ६–७, ६–२ र ६–१, सन्तोष खत्रीले रेन्जन लामालाई ६–३, ३–६ र ६–४, कमल भण्डारीले अनिल शाहीलाई ६–३ र ६–२ तथा नवीन मगरले प्रणव खनाललाई ६–४ र ६–३ को सेटमा पाखा लगाउदै सेमिफाइनलको बाटो तय गरेका छन् ।