काठमाण्डौ । हरेक वर्ष भाद्र कृष्ण औंसीको दिन नेपाली साहित्यका चम्किला तारा मोतीराम भट्टको सम्झना बनेर आउँछ । राष्ट्रिय विभूति, नेपाली साहित्यका माध्यामिककालमा शृंगारधाराका प्रवर्तका रुपमा परिचित उनको यो वर्ष १५० औं जन्मजयन्ती परेको छ । नेपाली साहित्यलाई आजको उचाईमा ल्याउन मोतिराम भट्टको ठूलो योगदान रहेको छ ।
उनको १५० औं जन्मजयन्ती देशैभर विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइदैछ । विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । छोटो समयमै नेपाली साहित्यलाई महत्वपूर्ण योगदान दिएका उनलाई नेपालीहरुले राष्ट्रिय विभूतिका रुपमा लिने गरेका छन् ।