समाचार

पहिरोले मुग्लिन सडक अवरुद्ध

चितवन । चितवनको कालीखोलामा पहिरो खसेर शुक्रबार बिहानदेखि मुग्लिन सडक अवरुद्ध भएको छ ।
राति परेको वर्षापछि चण्डिभञ्ज्याङ गाविसको जोखिम क्षेत्र मानिएको कालीखोलामा पहिरो खस्दा बिहान ५ बजेदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पहिरो पन्छाउन डोजरसहित प्रहरी परिचालन गरिएको छ। सुक्खा समयमा समेत पहिरो खस्दै आएको कालीखोलामा रातभर परेको वर्षापछि पुनः पहिरो खसेको हो ।
पहिरोका कारण चितवनबाट काठमाडौ र पोखरा जाने आउने सयौं सवारी बीच बाटोमै रोकिएका छन्। पहिरो हटाउन केही समय लाग्ने जनाइएको छ। यही कालीखोलामा अघिल्लो साता सडकको जीर्ण अवस्थाका कारण एउटा यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो। नारायणगढ–मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले खनेको स्थानमा सामान्य पानी पर्दासमेत पहिरो खस्दै आएको छ । रासस