पु.समाचार

फेरि पर्यो निधि र रावलको लफडा (नालीबेलीसहित)

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटारमा एकअर्कामाथि आरोप–पत्यारोप गरेका उपप्रधानमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलको पुनः चर्काचर्की परेको छ ।

बालुवाटारमा प्रधानमन्त्रीकै अगाडि ‘फाइट’ गर्न तम्सिएपछि बैठकमा उपस्थित नेताले सम्झाएर अवस्था सामान्य पारेका थिए । तर, त्यसको चार दिन नबित्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको शुक्रबार बसेको बैठकमा उनीहरुबीच पुनः चर्काचर्की परेको हो ।

बैठकमा निधिले एमालेलाई संकेत गर्दै पार्टीको बैठकमा कुन देशमा विशेष दूत पठाउँदा ठिक र कुन देशमा पठाउँदा वेठिक हुन्थ्यो भन्ने पार्टीको बैठकमै छलफल भएको बताएपछि रावल तातिएका हुन् ।

रावलले निधिलाई संकेत गर्दै आफूहरु कुनै पार्टीको बैठकमा नभएर संसदीय समितिको बैठकमा भएकाले पार्टीगत कुरा नगर्न आग्रह गरे ।

निधिले, ‘भारतमा विशेष दूत पठाउँदा राष्ट्रघाती र चीनमा पठाउँदा राष्ट्रवादी भन्ने चर्चा कुनै पार्टीको बैठकमा चलेछ…’ भनेपछि रावलले ‘पार्टीको बैठमा भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्र संस्थागत हुनुपर्छ भन्ने पार्टीगत निर्णय बाहेक अन्य कुरा नभएको बताए ।’

बैठकमा सहभागी एक नेताका अनुसार यसै विषयलाई लिएर उनीहरुबीच भनाभन पर्यो र केही समयपछि बैठकमा सहभागी अन्य नेताले पनि आफ्नो पार्टी निकट नेताको पक्ष र अर्को निकटको विपक्षमा बोल्न थाले ।

बैठकमा निधिको बाबु राष्ट्रवादी चरित्र भएको व्यक्ति भएको तर निधिमा राष्ट्रघाती चरित्र सल्बलाएको बताइए पछि उनी झनै ताते । त्यसपछि स्थिति झनै तनावपूर्ण भयो । अन्तिममा निधि कमजोर बनेपछि रावल हाबी भए र एकछिनपछि स्थिति शान्त भयो ।