आर्थिक

कालीगण्डकी प्रसारण करिडोर आयोजनाको काम सुरु

१६ असोज, पर्वत । पर्वत, म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण करिडोर आयोजनाको काम सुरु भएको छ ।

आयोजनाकोे २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्डको काम शनिबारदेखि सुरु भएको हो । आयोजनाको पर्वतको खुर्कोटस्थित २२०र१३२र३३ केभी सवस्टेसनको निर्माण कार्य औपचारिक रुपमा सुरु भएको आयोजनाले जनाएको छ ।

आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्ड ३९ किलोमिटर लामो हुनेछ । विद्युत् प्रसारण लाइनका साथै सवस्टेसन निर्माणका लागि रु दुई अर्ब ६० करोड खर्च हुने आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्रसारण करिडोर आयोजनाको खुर्कोट–कुस्माखण्डको काम २८ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको छ । तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी निर्माण कार्यको थालनी भएको प्रमुख घोषले बताए ।

आयोजनाको खुर्कोट–दाना प्रसारण लाइन तथा खुर्कोट र दाना सवस्टेसनको कामको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ । आयोजना र ठेकेदार कम्पनीबीच मे ३० २०१६ मा सम्झौता भएको थियो ।

विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछन् । खुर्कोटदेखि दानासम्म ११० वटा टावर रहने छन् ।

म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका १४ मेगावाट क्षमताको थापाखोला, चार मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेगावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् ।

सवस्टेसन निर्माणका लागि दानामा सय र खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण भएको छ भने नवलपरासीमा पनि सवस्टेसनका लागि जग्गा अधिग्रहण सकिएको आयोजना प्रमुख घोषले बताए । रासस