आर्थिक

काठमाण्डौमा थप बिजुली ल्याउन समस्या देखियो

काठमाण्डौ । काठमाडौं उपत्यकाभित्रको कमजोर वितरण प्रणालीले गर्दा यहाँ थप विद्युत् ल्याउन समस्या हुने देखिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाको अहिलेको प्रणालीले पाँच सय मेगावाटभन्दा बढी धान्न नसक्ने बताए।

‘पाँच सय मेगावाटभन्दा बढी विद्युत् ल्याऊँ भन्दा प्रणालीले धान्दैन,’ उनले भने, ‘त्यसैले काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको छ।’

काठमाडौं उपत्यकको पिक आवरको विद्युत् माग करिब पाँच सय मेगावाट छ । बढी मात्रमा घरायसी प्रयोजनका लागि प्रयोग हुने भएकाले राति विद्युत्को माग सयको हाराहारीमा झर्ने प्राधिकरणले जनाएको छ।

काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणका लागि थानकोट–चापागाउँ–भक्तपुर लाइन निर्माण गर्न लागिएको छ। ‘यो लाइन नबनेसम्म काठमाडौं उपत्यकामा विद्युत् आउन सक्छ, तर उपभोक्ताको घरसम्म प्रवाह हुन सक्दैन,’ आयोजना प्रमुख ताराप्रसाद प्रधानले भने। २६ किलोमिटर लाइनमध्ये अहिलेसम्म १२ किलोमिटर मात्रै बनेको छ। ललितपुरको चापागाउँमा स्थानीयको अवरोधले काम रोकिएको छ।

गत वर्ष भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको अभाव हुँदा उपभोक्ताले खाना पकाउनका लागि विद्युतीय उपकरण प्रयोगमा ल्याएका थिए । ओभरलोड भएपछि ट्रान्सफर्मर पड्किएका थिए, तार जलेका थिए । प्रणालीले धान्न सक्नेभन्दा बढी विद्युत् प्रवाह भएमा गत वर्षजस्तै ट्रान्सफर्मर पड्किने र तार जल्ने सम्भावना रहेको प्राधिकरणका अधिकारीहरुलाई उदृत गर्दै सोमबारको नयाँ पत्रिकामा समाचार लेखिएको छ ।