पु.समाचार

एकाबिहानै कास्कीमा बस दुर्घटना, १ जनाको मृत्यु, २८ जना घाइते

पोखरा । देशैभर बस दुर्घटनाका खबरहरु आइरहेका बेला कास्कीमा फेरि अर्को बस दुर्घटना भएको छ । सो बस दुर्घटनामा परेर एक २ वर्षे बालकको मृत्यु भएको छ भने अन्य २८ जना यात्रुहरु घाइते भएका छन् ।

काठमाण्डौबाट बाग्लुङ बुर्तिबाङ गइरहेको ढोरपाटन यातायात व्यावसायी संघको ग १ ख ६१६९ नम्बरको बस पोखराको हेम्जा पुल जनिकै दुर्घटनामा परेको हो ।

सोमबार बिहान करिब पौने ६ मा भएको भनिएको सो दुर्घटना लगत्तै अर्को बसमा सबार यात्रुहरुले घाइतेहरुको उद्धार गरेका थिए ।

लगत्तै घाइतेहरुको उद्धार भएकोले धेरैको ज्यान बाँचेको बताइएको छ । तिब्र गतिमा कुदिरहेको बसेले एकै दिशा वागलुङतर्फ नै गइरहेको बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीको अनुमान छ ।

घाइतेहरुको पोखरा मणिपाल अस्पताल र पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भैरहेको बताइएको छ । बस सडकबाट करिब १० मिटर तल खसेको जनाइएको छ ।