समाचार

दसैं सुरु भएसँगै राजधानीमा सवारी साधनको जाम बढ्यो

काडमाडौं । दशैं सुरु भएसँगै सवारीसाधनको चाप बढ्दा राजधानीमा जामको सकस बढेको छ । मुख्य चोक मात्र नभई चक्रपथ खण्डमा समेत जाम हुन थालेको छ । सामान्य अवस्थामै उपत्यकामा जामको समस्या हुने गथ्र्यो ।

पछिल्लो समय ३० प्रतिशत गाडी थपिएपछि समस्या झन् बढेको छ । ‘दशेंका लागि बुक भएका पाँच हजार गाडी थपिएका छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले भने, ‘किनमेलका लागि सबै गाडी बाहिर निस्किएकाले बजार क्षेत्रमा जाम बढेको हो ।’
न्युरोड र त्यस आसपासका सडकमा धेरै जाम हुने गरेको छ । पहिलेदेखि नै धेरै जाम हुने त्रिपुरेश्वर, टेकु सडकमा लामो समयसम्म गाडीहरू जाममा फस्ने गरेका छन् ।

त्यस्तै, थापाथली, माइतीघर र लैनचौर क्षेत्रमा धेरै जाम हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । ‘क्रसिङमा रोकिनु जाम होइन,’ डिआइजी अर्यालले भने, ‘त्यसबाहेक केही सडकखण्डमा १०–१५ मिनेट जाम हुने गरेको छ ।’ नयाँ गाडी थपिनु, बजारमा किनमेलको चहलपहल बढ्नु र दशैंका लागि उपत्यकाबाहिरका गाडी पनि भित्रँदा जाम बढेको हो ।

दशैं मान्न आ–आफ्ना घर फर्कने क्रममा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पनि बढ्न थालेको छ । उपत्यकाको प्रमुख नाका नागढुंगाबाट आइतबार ३३ हजार यात्रु बाहिरिएका छन् । जब कि १५ हजार मात्र भित्रिएका छन् । सामान्य अवस्थामा २६ हजार हजार भित्रने र बाहिरिने गर्थे भन्दै मंगलबारको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।