समाचार

तोडियो अरनिको यातायातको सिन्डिकेट

काठमाण्डौ । काभ्रेको कोसीपारि क्षेत्रमा अरनिको यातायातको सिन्डिकेट तोडिएको छ । सुनकोसी पूर्व यातायात प्रालिले दसैंको मौका पारी १६ टाटासुमो गाडीबाट मंगलबारबाट सेवा सुरु गरेपछि अरनिकोको सिन्डिकेट तोडिएको हो ।

कोसीपारिमा अरनिकोको एकाधिकारका कारण थोरै गाडी चल्दै आएका छन् । थोरै गाडीमा यात्रुको चाप बढी हुँदा बेलाबेला ठूला दुर्घटना हुने गरेको छ । गत महिनामात्र कोसीपारि २७ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको थियो ।

काभ्रेका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त अधिकारीले ऐन, कानुन अनुसार नयाँ यातायात कम्पनी आउन पाउने बताए । ‘राज्यको ऐन, कानुन मानेर आउने यातायात कम्पनीलाई स्वागत गर्ने सरकारको नीति हो ’ उनले कान्तिपुरसँग भने, ‘यातायातमा सिन्डिकेट तोड्ने राज्यको दायित्व हो ।’ उनले प्रक्रिया पुर्या‘एर आउने यातायात कम्पनीलाई आवश्यक परे सुरक्षा व्यवस्था मिलाउने बताए भन्दै बुधबारको कान्तिपुर दैनिकमा समाचार लेखिएको छ ।

सुनकोसी पूर्व यातायात प्रालिले यातायात व्यवस्था कार्यालय वाग्मतीबाट अस्थायी रुट परमिट लिएर सञ्चालन गरेको अध्यक्ष रमेश सेढाईंले जानकारी दिए । उनका अनुसार तत्काल १६ वटा सुमो सञ्चालन गरिएकोमा बिस्तारै थप्दै लगिनेछ ।

१७ वटै गाविसमा सेवा दिने उनले जानकारी दिए । ‘कच्ची सडकमा ठूला गाडीले जोखिम बढाएपछि स्थानीयको मागका आधारमा सञ्चालन गरेका हौं,’ सेढाईंले कान्तिपुरसँग भने, ‘सबै गाविस र रुटमा सेवा पुर्यासउन गाडी संख्या थप्दै लैजान्छौं ।’ जिल्ला प्रशासन कार्यालयमा प्रहरी प्रमुख समेतको उपस्थिति अन्तिम स्टप (कात्तिके देउराली) सम्मको भाडा साढे ५ सय निर्धारण गरिएको उनले जानकारी दिए ।

पोखरीचौरी ५ का व्यापारी नवराज गौतमले प्रालिले नयाँ गाडी चलाउन सुरु गरेपछि यात्रा सहज भएको बताए । उनले भने, ‘ठूलो गाडीको तुलनामा सजिलो भएको छ ।’

अरनिकोले काभ्रेसहित सिन्धुपाल्चोक, रामेछाप, दोलखा जिल्लामा एकलौटी गाडी चलाउँदै आएको छ । ती जिल्लामा सिन्डिकेट नभएको देखाउन उसले विभिन्न समितिको नाममा गाडी सञ्चालन गर्दै आएको छ ।

जिल्लाको कोसीपारि क्षेत्रमा उसले कोसीपारि यातायात, चौतारामा जुगल, बाह्रबिसेमा सुनकोसी, दोलखा, रामेछाप (लोकल टिप)  मा सगरमाथा, दोलखा, रामेछापबाट काठमाडौं चल्नेमा अरनिको सुपर, सिगटीमा  गौरीशंकर यातायातको नाममा अरनिकोले सेवा सञ्चालन गर्दै आएको छ । ती सबैको मूल समिति अरनिको यातायात नै हो । कच्ची सडकमा चल्ने पुराना गाडीका कारण कोसीपारिका १७ गाविसमा पटक–पटक सवारी दुर्घटना हुँदै आएका छन् ।