विशेष

अमेरिकामा ट्रम्पको विजयसँगै जोडिएको नेपालीहरुको भविष्य, यस्ता छन् चूनौतीहरु !

–समाचार टिप्पणी
काठमाण्डौ । अमेरिकामा यसबेला डोनाल्ड ट्रम्प अमेकिामा नवनिर्वाचित राष्ट्रपतिको रुपमा उदाएका छन् । उनको उदयसँगै कतिपय आप्रवासीहरुमा त्रास देखिन थालेको छ ।

रिपव्लिकन पार्टीको तर्फबाट निर्वाचित ट्रम्पले डेमोक्रयाटिक पार्टीको तर्फबाट निर्वाचन लडेकी हिलारी क्लिन्टनलाई हराएसँगै त्यहाँका अधिकांश आप्रवासीहरुमा त्रास फैलिएको हो ।

उनले निर्वाचन अभियानमै गरेको आप्रवासीहरु विरुद्धको घोषणाले पनि अहिले सर्वत्र त्रास फैलिरहेको अन्तर्राष्ट्रिय सञ्चामाध्यामहरुले जनाएका छन् ।

वास्तवमा रिपव्लिकन पार्टीको तर्फबाट निर्वाचन जितेका ट्रम्पको यो घोषणा आतंकवादप्रतिको कठोर कदम भएपनि सही ढंगले अमेरिकामा बसिरहेका अन्य आप्रवासीहरुलाई समेत त्रासको विषय बन्नु दुखद भएको विश्लेषण समेत गर्न थालिएको छ ।

विश्वभर आइएस, तालिवान, अलकायदा लगायतका अतिवादी संगठनका व्यक्तिहरु अमेरिका छिर्ने सम्भावना बढ्दै गएको र कतिपय ती संगठनहरुसँग जोडिएको मुलुकका नागरिकहरुलाई अमेरिकामा अब निकै गाह्रो स्थिति आउन सक्ने अमेरिकालाई नजिकबाट बुझेकाहरुको भनाई छ ।

यता, अमेरिकामा रहेका नेपालीहरुलाई पनि ट्रम्पको नीतिले प्रभाव पार्न सक्ने देखिन्छ । डिभी परेर अमेरिका पुगेका अतिरिक्त वैकल्पिक बाटोको प्रयोग गरेर अमेरिका छिरेका नेपालीहरु, जोसँग कागजपत्रको समेत अभाव रहेको छ, उनीहरुलाई समेत प्रभाव पर्न सक्ने अनुमान गर्न थालिएको छ ।
अमेरिकाका ठूला शहरमा त्रास फैलियो

अमेरिकाका अधिकांश ठूला शहरहरुमा अहिले त्रास फैलिएको जनाइएको छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले चुनावी अभियानकै क्रममा गैरकानुनी रुपमा अमेरिका बसिरहेका एक करोडभन्दा बढी आप्रवासीहरुलाई देश निकाला गर्नुपर्ने घोषणा गर्दै आएका छन् । त्यसकारण पनि अमेरिकाका यूयोर्क, वासिंगटन डिसी लगायतका सहरहरुमा निकै ठूलो त्रास सिर्जना भएको जनाइएको छ ।

न्युयोर्कका मेयर बिल डे ब्लाजीयोले गैरकानूनी रुपमा आप्रवासीहरुलाई देश निकाला गर्ने ट्रम्पको योजनाका कारण न्यूयोर्कमा त्रास छाएको स्वीकार गरेका छन् ।

उनको यो नीतिबाट निकै धेरै आप्रवासीहरु प्रभावित हुने अमेरिकाका अधिकांश सहर प्रमुखहरुको भनाई छ । ती मध्ये न्यूयोर्कमा भने निकै धेरै प्रभाव पर्न सक्ने अनुमान गरिएको छ, किनभने ट्रम्प आफैमा त्यस्ता व्यक्ति हुन, जो न्यूयोर्कमै हुर्किएका हुन् । त्यसैले पनि त्यहाँ प्रभाव पर्न सक्ने अनुमान गरिएको छ ।

कति छ अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संख्या

अमेरिका नेपालीहरु मात्र होइन, विश्वभरका मानिसहरुको आकर्षणको थलो हो । संसारकै अति विकसित राष्ट्रको रुपमा रहेको अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संख्या करिब ५ लाख पुग्न थालेको छ ।

अमेरिकाका न्यूयोर्क, वासिंगटन डिसी लगायतका ठूला र भव्य सहरहरुमा नेपालीहरुले आप्नो क्यारियर स्थापि गरिरहेका छन् । डिभी लोट्री परेर जानेहरुको संख्या पनि उत्तिक्कै बढिरहेको छ ।

अमेरिकामा नेपाली संस्कृति र रहन सहन बढिरहेको समेत त्यहाँ रहेका नेपालीहरुको भनाई पुष्टि हुन्छ । मध्यपश्चिम तथा दक्षिणपूर्वी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संख्या समेत बढिरहेको छ ।

कानूनी रुपमा बसिरहेका नेपालीहरुका लागि त्यति धेरै असर पर्ने नदेखिए पनि कागजात बिनै बसिरहेका नेपालीहरुलाई भने असर पर्ने देखिएको छ, जसलाई ट्रम्प प्रशासाले गैरकानूनी ठहर गरिदिनसक्छ ।

ट्रम्पले त्यस्तो पाइएमा जेल हालिदिने समेत चेतावनी दिएका छन् । यसका लागि नेपाल सरकारले समेत कुटनीतिक पहल गर्नुपर्ने जानकारहरु बताउँछन् ।

अमेरिकाका लागि नेपाली राजदूतमार्फत सरकारले पहल लिन सुरु गरिहाले ट्रम्पको ह्वाइट हाउस प्रवेशसँग अमेरिकामा रहेका आफ्ना नागरिकहरुको सरकारले संरक्षण गर्न सक्ने प्रस्ट छ ।