पु.समाचार

गगनको निर्देशनमा मन्त्रालयले पोलिक्लिनिकहरुमा अनुगमन थाल्यो

सुर्यखबर सम्बाददाता,

काठमाडौं । स्वास्थ्य मन्त्रालयका दुई ओटा टोलीले काठमाडौ उपत्यकामा शुक्रबार ३२ ओटा निजि स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेका छन् ।
अनुगमन गरिएका मध्ये काठमाडौका पाँच र ललितपुरका दुई गरी सात ओटामा तालाबन्दी गरिएको अनुगमन टोलीहरुले जनाएका छन् । काठमाडौमा २० ओटा र ललितपुरमा १२ ओटामा अनुगमन गरिएको हो ।
काठमाडौको कालीमाटी देखि कलंकी सम्मको बाटोको छेउमा रहेका क्लिनीकहरु मध्ये सुभारम्भ डेण्टल क्लिनीक, हक मेडिकल हल, स्पार्क पोली क्लिनीक, कालीमाटी डेण्टल क्लिनीक, सिटी भ्याली डेण्टल क्लिनीकमा तालाबन्दी गरिएको छ ।
क्लिनीक संचालनका लागि आधारभुत मापदण्ड समेत पुरा नगरी संचालन गरिएको पाइएकाले बन्दी गराइएको र वाँकी प्रक्रियाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको अनुगमन टोलीका संयोजक तथा व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीले जानकारी दिएका छन् ।
डा. पन्थीका अनुसार, राजभण्डारी डेण्टल क्लिनीक अनुगमन टोली आएको थाहा पाएपछि भागेकोले अर्कोदिन कारवाही गरिने बताएका छन् ।
त्यस्तै अनुगमन तथा मुल्यांकन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्व टोलीले ग्वार्कोमा रहेको कंकाली मेडिकल हल र निरञ्जन डेण्टल क्लिनीक एण्ड ल्यावलाई बन्द गरिदिएको छ ।

टोलीले ग्लोवल हस्पीटल एण्ड एजुकेशन फाउण्डेसनले गत साउन देखि नविकरण नगरेकाले नविकरणका लागि अल्टीमेटम दिइएको उपसचिव खतिवडाले जानकारी दिएका छन् ।
शुक्रबार सहित पाँच दिनमा काठमाडौ र ललितपुरका ३७ ओटा क्लिनीकहरुमा स्वास्थ्य मन्त्रालयका दुई टोलीले तालाबन्दी गरिएका छन् ।  स्वास्थ्य मन्त्री गगनकुमार थापाको विषेश चासोमा अनुगमनमा खटिएको टोलीहरुको अनुगमन जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयलाई संवन्धीत जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट प्राप्त विवरणहरुका अनुसार काठमाडौमा ४१५ ओटा, ललितपुरमा १७१ ओटा र भक्तपुरमा २१ ओटा अस्पताल, क्लिनीक र पोलिक्लिनीक दर्ता भएका छन् ।

बिहीबार देखि बाँके, मोरङ्ग लगायतका जिल्लाहरुमा पनि अनुगमन सुरु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले अहिले जारी अनुगमन दुई हप्ता सम्म संचालन गर्ने, उजुरी तथा गुनासोका आधार छड्के जाँच गर्ने, स्थानीय स्तरमा स्वमसेवक परिचालन गर्ने तयारी पनि गरिरहेको छ ।

कुनै निजि स्वास्थ्य संस्था स्विकृति र नविकरण नगरी मापदण्ड पुरा नभई सञ्चालन भएको थाहा पाएमा मन्त्रालयको चिकित्सा महाशाखामा उजुरी दिएर सहयोग गर्न मन्त्रालयले सवैलाई आह्वान गरेको छ ।