आर्थिक

अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न उद्योग मन्त्री जोशीको आग्रह

सुर्यखबर सम्बाददाता,

काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्रतिस्पर्धी वैदेशिक लगानीका लागि नेपालले उदार नीति अबलम्बन गरेको भन्दै पूर्वाधार तथा औद्योगिक क्षेत्रामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

भियानामा सुरु भएको संयुक्त राष्ट्रसंघको उद्योग विकास सङ्घठन (युनिडो)को औद्योगिक विकास बोर्डको ४४ औं सत्रलाई सम्बोधन गर्दै मन्त्री जोसीले अर्थपूर्ण वैदेशिक लगानीमा सहकार्य मार्फत नेपालमा प्रविधि भित्र्याउन चाहेको बताएका छन् ।

गत वर्ष नेपालमा जारी संविधानले संवैधानिक स्वतन्त्रता, मानव अधिकार, समावेशी समाजलाई सनिश्चित गरेको भन्दे उहाँले राजनीतिक परिवर्तनसँगै आर्थिक समृद्धि र औद्योगिकीकरण मार्फत द्रुत गतिमा दीगो आर्थिक विकासका लागि अगाडि बढ्न चाहेको बिचार ब्यक्त गरेका छन् ।

मन्त्री जोशीले नेपालजस्ता मुलुकले पर्यटन, साना तथा मझौला उद्यमशीलता र विश्वमा बजारीकरणका लागि दीगो विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिए । जोशीले हरित विकासका लागि नवीकरणीय ऊर्जाको प्रयोग, उत्पादकत्व र बजार व्यवस्थापनजस्ता चुनौति रहेको बताए ।

नेपालजस्ता अतिकम विकसित मुलुकमा विकासका अपार सम्भावना रहेको भन्दै मन्त्री जोशीले सन् २०३०को दीगो विकाससम्बन्धी मुद्दामा कुनै पनि मुलुक पछि पर्न नहुने बताए । जोशीले दीगो औद्योगिकरणका लागि ऊर्जा र पूर्वाधारमा लगानी, निरन्तर मानवस्रोत साधनको विकास र क्षमता अभिवृद्धि तथा प्रविधि र सिर्जनशीलता पूर्व सर्त भएकोमा जोड दिए ।

साना मुलुकको आर्थिक प्रणालीमा संरचनात्मक परिवर्तन ल्याउन उनीहरुले सामना गर्नु परेका आन्तरिक तथा बाह्य जोखिम र आर्थिक अवरोधजस्ता कमजोरीलाई निराकरण गर्दै लैजानुपर्नेमा मन्त्री जोशीको जोड थियो ।

आर्थिक तथा सामाजिक क्षेत्रका रुपान्तरणका लागि पनि साना मुलुकले दीगो शान्ति र औद्योगिक रुपमान्तरणमा ध्यान दिनुपर्ने बताउँदै उहाँले त्यसका लागि औद्योगिक मुलुकबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

उद्योग मन्त्री नवीन्द्रराज जोशी, उद्योग मन्त्रालयका सह सचिव यामकुमारी खतिवडा र जेनेभे स्थित नेपाली राजदूत दिपक धितालले अष्ट्रियाको भियनामा मंगलबारबाट सुरु भएको युनिडोको ५० औं वार्षिकोत्सबमा भाग लिइरहेका छन् ।