राजनीति

बुटवल प्रदर्शनबाट नेताहरुले गरे कडा उद्घोष

काठमाण्डौ । प्रदेश नम्बर ५ टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव दर्ता भएकामा शुक्रबार बुटवलमा प्रदेशस्तरीय विशाल जनप्रदर्शन गरिएको छ । ५ नम्बर प्रदेशका १२ वटै जिल्लाका नेता, कार्यकर्ता तथा सांसदहरूको उल्लेख्य सहभागिता रहेको विरोध प्रदर्शनमा हजारौँले सहभागिता जनाएका थिए ।

कांग्रेस, एमाले, माओवादी केन्द्रसहित ५ नम्बर प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दलका नेता र जनताको जनसहभागिताले बुटवल सडक भरिभराउ भएको थियो । सडकमा जनसागर उर्लिएपछि प्रहरीलाई सुरक्षा व्यवस्थापन गर्न निकै हम्मेहम्मे परेको थियो ।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध प्रदर्शनको नेतृत्व एमाले नेता विष्णु पौडेल, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता चन्द्र भण्डारीसहित विभिन्न दलका केन्द्रीयस्तरका नेताले गरेका थिए ।

विरोध ¥याली सुरु हुनुअघि १२ वटै जिल्लाका नेता कार्यकर्ताको भेला गरिएको थियो । भेलालाई एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका रायमाझी र कांग्रेसका भण्डारीलगायतले सम्बोधन गरेका थिए । प्रदर्शनमा बुटवलका सबैजसो संघसंस्थाले ऐक्यबद्धता जनाएका थिए ।

बुटवलमा जनसागर उत्रिएपछि नेताहरू पनि हौसिएका थिए । उनीहरूले संशोधन प्रस्ताव फिर्ता नगराउँदासम्म आन्दोलन तेज पार्ने उद्घोष गर्दै विजय हासिल गरेरै छाड्ने दृढता व्यक्त गरेका थिए । सदन र सडकबाट सो प्रस्ताव फिर्ता गराउने उनीहरूले बताए । शनिबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।