खेलकुद

नेपालका अनिललाल छैटौ स्थानमा

मंसिर– नेपालका अनिललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको पुरुषतर्फको ६५ केजीमा छैटौं स्थानमा जित हासिल गरेका छन् । विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजनामा शुक्रबार थाइल्यान्डको पटायास्थित एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा भएको सो प्रतियोगितामा उनले सो स्थान हासिल गरेका हुन् ।

प्रतियोगिताअन्तर्गत अनिलको तौल समूहमा आयोजक थाइल्यान्डका ३ सहित ८ खेलाडीले प्रिजजिङ राउन्डमा प्रतिस्पर्धा गरेका थिए । ८ खेलाडीमध्ये शीर्ष पाँचमा रहने खेलाडीलाई पुनः फाइनल चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

त्यसमा थाइल्यान्डका सोमखित सुमेथोवेत्चाकुन पहिलो, थाइल्यान्डकै सुरासक दोश्रो तथा भारतका राहुल सिन्दाह तेश्रो भए । मलेसियाका अब्दुल रानी चौथो तथा चीनका जाङ झियो यान पाँचौं स्थानमा रहे ।

यसै वर्ष पाकिस्तानमा भएको दक्षिण एसियाली शारीरिक सुगठनमा कांस्य जितेका अनिलले शुक्रबारै मास्टर्स ४० वर्षमाथि पनि प्रतिस्पर्धा गरेको थिए । विभिन्न देशका २३ खेलाडी सहभागी मास्टर्समा शीर्ष १५ स्थानभित्र नअटाएपछि अनिल प्रिजजिङ राउन्डबाटै बाहिरिए ।

अनिलले शरीरको माथिल्लो भन्दा तल्लो भागको कमजोरीले गर्दा अझ राम्रो नतिजा हासिल गर्न नसकेको प्रतिक्रिया दिए । ‘थाई मै कमजोरी देखियो । खेलपछि जज र अरुको कुरा सुन्दा पनि मेरो माथिल्लो भाग राम्रै रैछ । विकनेस भनेकै लवर पार्टमा देखियो’– खेलपछि अनिलले भने– ‘विस्तारै थाईलाई प्राथमिकता दिएर सुधार गर्दै लाने छु र संगैसंगै माथिल्लो भागमा पनि ध्यान दिने छु । यसो भएको खण्डमा पदक हासिल गर्न सकिन्छ भन्ने आशा छ ।’

शारीरिक सुगठनका मुख्य प्रशिक्षक समेत रहेका टिम प्रशिक्षक ज्ञानेन्द्र नकर्मीले पनि अनिलले तल्लो भागमै धेरै सुधार गर्न आवश्यक रहेको बताए ।