अन्तर्राष्ट्रिय

राष्ट्रसंघद्धारा गम्भीर चिन्ता व्यक्त

एजेन्सी-संयुक्त राष्ट्रसङ्घले शुक्रबार पूर्वी अलेप्पोमा यहाँको सेनाद्वारा इस्लामिक स्टेट (आईएस) विरुद्ध कारबाहीलाई कडा पारेपछि विद्रोही नियन्त्रित उक्त क्षेत्रबाट भागेर अन्यत्र जाने क्रममा सयौँ सर्वसाधारण बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

बेपत्ता उनीहरुलाई स्थानीय हतियारधारी समूहले नियन्त्रणमा लिएको भनी समाचारहरु प्राप्त भएका छन् । यद्यपि यी सूचनाको सेना तथा विद्रोही दुवै पक्षबाट पुष्टि भएको छैन ।

‘यो खतरानाक एवम् तरल अवस्थामा यसै भयो भनी वास्तविकता बाहिर ल्याउन सहज छैन, हामीलाई प्राप्त जानकारी अनुसार सरकार नियन्त्रित क्षेत्रमा गएपछि सयौँ मानिस बेपत्ता भएको भन्ने चिन्ताजक खबर प्राप्त भएका छन्’, संयुक्त राष्ट्रसङ्घको मानवअधिकार मामिला हेर्ने कार्यालयका प्रवक्ता रुपर्ट कोलभिलले जेनेभामा सञ्चारकर्मीलाई बताए ।

बेपत्ता भएका नागरिकहरु ३० देखि ५० वर्ष उमेर समूहका मानिस भएको बताइएको छ । बेपत्ताका आफन्तजनले उनीहरुसँग अलेप्पोको पश्चिमी (सरकार नियन्त्रित)  क्षेत्रमा हप्तादेखि दश दिन अघिसम्म सम्पर्क भएको बताएका छन् ।

राष्ट्रसङ्घलाई सरकारी हतियारधारी समूहले उनीहरुलाई लगेको र स्वेच्छाचारी रुपमा  थुनामा राखिएको, यातना दिइएको र बेपत्ता पारिएको भन्ने सूचना प्राप्त भएको छ र यस विषयमा राष्ट्रसङ्घ गहिरो चिन्ता व्यक्त गर्दछ, प्रवक्ता कोलभिलले बताएका छन् ।

यसैबीच सिरियाली सेनाले विद्रोहीद्वारा सन् २०१२ देखि नियन्त्रणमा लिएर आफ्ना गतिविधि सञ्चालन गर्न सुरक्षित आश्रयस्थल बनाउँदै आएको प्राचीन सहर अलेप्पोको ८५ प्रतिशत भूभाग नियन्त्रणमा लिएको जनाएको छ ।

अलेप्पोको विद्रोही नियन्त्रित भूभागमा सिरियाको बसर अल असद प्रशासनका प्रमुख सहयोगी रसियाले मानवीय सहायताका लागि हवाई आक्रमण तथा स्थल आक्रमणलाई रोकेको बताइरहेका बेला शुक्रबार विद्रोहीविरुद्ध व्यापक मात्रामा हवाई आक्रमण भएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ ।

सिरियाली मानवअधिकारवादी संस्थाले जनाएअनुसार पूर्वी अलेप्पोबाट ठूलो मात्रामा सर्वसाधारण घर छोडेर भागेका र यसरी घर छोडी भाग्ने जनसङ्ख्या ८० हजारभन्दा बढी भएको दाबी गरेको छ ।

सरकारले पछिल्लो कारबाही सञ्चालन गर्नुपूर्व अलेप्पोमा दुई लाख ५० हजार मानिस रहेको तथ्याङ्क भएपनि हाल विद्रोही नियन्त्रित इलाकामा कति मानिस छन् भन्ने एकिन सङ्ख्या बाहिर आउन सकेको छैन ।