अन्तर्राष्ट्रिय

होर्मुज तनावसँगै तेल बजार प्रभावित

६ साउन, लन्डन । मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता बढेपछि बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । करिब छ सातापछि पहिलोपटक ब्रेन्ट क्रुडको मूल्य यो स्तरमा पुगेको हो ।

अन्तरराष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो । अमेरिकी ‘वेस्ट टेक्सास इन्टरमिडियट’ (डब्लुटीआई) क्रुडको मूल्यमा समेत वृद्धि देखिएको छ ।

विश्लेषकका अनुसार अमेरिका र इरानबीच पुनः चर्किएको सैन्य तनाव तथा होर्मुज र बाब अल–मान्देब जलसन्धि हुँदै हुने तेल ढुवानीमा बढेको जोखिमले बजारमा आपूर्ति अवरोधको आशङ्का बढाएको छ ।

बढ्दो भू–राजनीतिक जोखिमसँगै तत्कालीन आपूर्तिमा देखिएको कमी र कच्चा तेलको अल्पकालीन मागमा भएको वृद्धिले पनि मूल्य वृद्धिमा योगदान पु¥याएको बजार सहभागीहरूले बताएका छन् ।

पछिल्ला सातामा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धिको क्रम बुधबार पनि जारी रहेको छ । विश्लेषकहरूले मध्यपूर्वको तनाव थप बढेमा भू–राजनीतिक जोखिमका कारण तेलको मूल्यमा थप दबाब पर्न सक्ने र विश्वव्यापी ऊर्जा बजार प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।