अन्तर्राष्ट्रिय

इरानसँगको युद्धमा ट्रम्पले सके ३७.५ अर्ब डलर

६ साउन, काठमाडौं । इरानसँगको युद्धमा हालसम्म अमेरिकाले करिब ३७.५ अर्ब अमेरिकी डलर खर्च गरेको छ । यसको जानकारी अमेरिकी रक्षामन्त्री पिट हेगसेथले गराएका हुन् ।

अमेरिकी संसदको सिनेट एप्रोप्रिएसन कमिटी ९विनियोजन समिति० मा बोल्दै हेगसेथले आवश्यक अतिरिक्त बजेट स्वीकृत नभए सैन्य तालिम र अन्य महत्वपूर्ण कार्यक्रम प्रभावित हुने समेत बताए ।

उनले रक्षा मन्त्रालयका लागि कुल ८७ अर्ब डलर बजेट माग गरेका छन् । त्यसमध्ये ६७ अर्ब डलर मध्यपूर्वमा जारी सैन्य परिचालनका लागि खर्च गर्ने योजना रहेको जनाइएको छ।

सुनुवाइका क्रममा युद्धविरोधी प्रदर्शनकारीहरूले बैठकमा पटक–पटक अवरोध गर्दै ुइरान र प्यालेस्टाइनमा हाम्रा बालबालिकामाथि बमबारी बन्द गरु भन्दै नाराबाजी गरेका थिए ।

यो बजेट प्रस्ताव मध्यपूर्वमा पछिल्लो समय तीन अमेरिकी सैनिकको मृत्यु भएको घटनापछि आएको हो। हेगसेथले अमेरिका आफ्ना रणनीतिक प्रतिद्वन्द्वीभन्दा पछि पर्न नहुने भन्दै रक्षा क्षेत्रमा लगानी अपरिहार्य रहेको बताए।

यता विपक्षी डेमोक्र्याटिक सांसदहरूले भने प्रस्तावित बजेटको कडा विरोध गरेका छन्।

इरान र अमेरिकाबीच गत अप्रिलमा युद्धविरामको सहमति भए पनि गत सातादेखि द्वन्द्व फेरि चर्किएको छ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ। मन्त्रालयले हालै इराक र जोर्डनमा मारिएका सैनिकहरूको पहिचान पनि सार्वजनिक गरेको छ।