समाचार

बोक्सीको आरोपमा शिक्षककै नेतृत्वमा कुटपिट, घाइते महिलाको मृत्यु

काठमाडौँ । बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी एक महिलाको मृत्यु भएको छ । काभ्रे सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो ।

उनलाई बोक्सी आरोपमा स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा मंगलबार डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी परियारको शुक्रबार मृत्यु भएको थियो ।

आफूमाथि कुटपिट भएपछि पीडित परियारले प्रहरी कार्यालय चौबासमा निवेदन दिएकी थिइन् । प्रहरी र स्थानीयले बिहीबार मिलापत्र गराएका थिए । मिलापत्र गरेको २४ घन्टा नबित्दै महिलाको मृत्यु भएको हो । मृत्यु भएपछि माइती पक्षले प्रहरीसमक्ष किटानीजाहेरी दिएको छ ।

यसैबीच, लक्ष्मी परियारको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक हीरा लामा, साइँला तामाङलाई पक्राउ गरेको छ भने थप अनुसन्धानका लागि भन्दै लक्ष्मीका श्रीमान् मिलन परियारलाई पनि पक्राउ गरेको छ ।