समाचार

पूर्व–पश्चिम राजमार्गको नवलपरासीस्थित बौलाहा खोलाको पुल भाँचियो, सयौं यात्रु अलपत्र

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा पुल भाँचिएको छ । पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको छ ।

पुल भाँचिएपछि यात्रुबाहक बस र मालबाहक ट्रक अलपत्र बनेका छन् । साना हल्का सवारी साधन भने पुल भाँचिएको भागभन्दा अर्को भागबाट सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । बौलाहा खोलामा डाइभर्सन निर्माण गरेरमात्र सवारी साधन आवात जावत गराउन सकिने उनले बताए ।

पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्गको रजहर र कावासोतीसम्म सवारी साधनको लाम लागेको छ । भरतपुर कलेज पढ्न जाने विद्यार्थीसमेत रोकिएको विद्यार्थी झलक पौडेलले बताए । बिहान १० बजेसम्ममा डाइभर्सन बनाउने गरी काम थालिएको प्रहरीले जनाएको छ । रासस