विशेष

एमालेभित्रैबाट आयो नयाँ खबर, अब यसकारण जोखिममा पर्यो एमाले !

काठमाण्डौ । नेकपा एमालेले पछिल्लो राजनीतिक गतिरोध हटाउनका लागि नयाँ संकेत दिएको छ । पछिल्ला दिन संविधान संशोधनको विषयलाई लिएर सडक र सदन तताउँदै आएको एमालेका अध्यक्ष केपी ओलीले सरकार गठबन्धनमा रहेको कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा निर्वाचनसँग जोडिएको विद्येयक पास गर्न संसदमा अवरोध नगर्ने भन्दै नयाँ संकेत दिएका हुन् । एमालेले सदन संघर्षमा लिएको पछिल्लो रणनीतिले कति फाइदा पुग्छ, त्यो आगामी दिनमा मात्र थाहा हुने कुरा हो तर उसले दिएको यो संकेत संविधान संशोधनको मुद्धामा समेत गाँसिन पुग्यो भने त्यो कदम एमालेका लागि आत्मघात हुने निश्चितजस्तै छ ।

वास्तवमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको लोकप्रियता र पछिल्ला दिनसम्म देखिएको अडानले सो पार्टीको साख ह्वात्तै माथि उठेको छ । ओली नेतृत्वको सरकारले अघि सारेका लोकप्रिय नारा र त्यसको जगमा निर्माण भएका राजनीतिक मुद्धाहरुलाई आधार मानेर एमालेले अहिले चुनावी नारा तयार गरिरहेको छ । राष्ट्रियताको मुद्धालाई अघि सार्दै निर्वाचनमा जाने उद्घोष गरिरहेको एमालेले निर्वाचन सम्बन्धी कार्यसुची ल्याए संसद खुलाउने संकेत दिनु आफैमा सुखद कुरा भएपनि उसले त्यो बाटो खुलाईलाई संविधान संशोधनको मुद्धासम्म पुर्याउँछ कि पुर्याउन्न, त्यो भने हेर्न बाँकी छ । कांग्रेस सभापति देउवाबीचको भेटमा भने अध्यक्ष ओलीले संविधान संशोधनको विषयमा भने संसद खुलाउन नसकिने संकेत दिएका छन् । निर्वाचनको कार्यसूचीका लागि बाटो खुलाउने एमालेको संकेत के हो ? एमालेको यो कदमले उसलाई कतासम्म पुर्याउँछ ? त्यो भने उसले आगामी दिनमा तय गर्ने रणनीतिले मात्र निश्चित गर्छ ।

kp-and-deuba

नेकपा एमालेले ओली नेतृत्वको सरकार ढल्ने वित्तिक्कै मंसिरभित्र स्थानीय निकायको निर्वाचन हुनुपर्छ भन्ने कुराको अडान लिएको थियो । ओली नेतृत्वको सरकारको लोकप्रियता र त्यसको जगमा देशै जित्ने सपना देखेको एमालेले भने मधेसमा आफुलाई कति समर्थन प्राप्त हुन्छ भन्ने कुरा अहिलेसम्म निक्र्योल गर्न सकेको छैन । पूर्वदेखि पश्चिमसम्मकै पहाडी जिल्लाहरुमा भने एमालेले आफ्नो बर्चस्व स्थापित गरिसकेको छ । राम्रो जनलहर देखेको एमालेले निर्वाचनको रटान लगाउनु स्वाभाविक पनि हो तर ठूलो जनसंख्या ओगटेको तराई–मधेसलाई राम्रोसँग सम्बोधन नगरी निर्वाचनमा होम्मिएर संसार जित्न सक्छु भन्ने एमालेको रटान आफैमा दुस्साहासी कदम समेत हुनसक्ने धेरैको आंकलन छ ।

मधेसी मोर्चासँग एमालेको टक्कर
अघिल्लो वर्ष ओली नेतृत्वको सरकारसँग निकै ठूलो टक्कर लिँदै आएको मधेसी मोर्चा केही हदसम्म पछिल्लो पुष्पकमल दहाल नेतृत्वको सरकारसँग लचिलोजस्तो देखिए पनि मोर्चा आफ्नो मागबाट पछि हटेको देखिदैन । एमाले नेतृत्वको सरकारले मोर्चाले उठाएका मागलाई भारत निर्देशित माग रहेको आरोप लगाइरहँदा भारत मोर्चाको सोही मुद्धालाई भरथेग गर्न नेपालविरुद्ध नाकाबन्दी गर्न समेत पछि परेन, यद्यपि, भारतले नयाँ संविधानप्रतिनै असमर्थन जनाएको थियो ।

मधेसी समुदायको समावेशीताको नारा दिएर भारतले ओली नेतृत्वको सरकारको विकल्प समेत खोज्यो र प्रचण्ड त्यसमा राजी भएप्छि उसले त्यो नयाँ सरकारलाई तथास्तु भन्दै वरदान समेत दिइरहेको देखिन्छ । वास्तवमा एमालेले मोर्चाले अघि सारेको मधेसी जनताको समावेशीताको नाराभित्र त्यहाँका वास्तविक जनताको नारा नभई केही जमिन्दार मुखियाहरुले सतहमा उठाएको नारा भएको आरोप लगायो र दुई पक्षबीच झन ठूलो खाडल देखापर्यो ।

यसबाट एमाले र मोर्चाबीचको सम्बन्ध अहिलेसम्म पनि सुधार हुन सकेको छैन । यसबाट के पुष्टि हुन्छ भने एमालेलाई मधेसमा अहिले पनि निकै ठूलो जोखिम छ र उसले योजनाबद्ध ढंगले कोशिस नगरे फस्न सक्ने सम्भावना पनि उत्तिक्कै नजिक देखिन्छ । मधेसी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारबन्दा निकै ठूलो अपेक्षा गरेको थियो किनभने माओवादीको मुद्धा र मोर्चाको मुद्धा मिल्दोजुल्दो देखिन्छ तर पछिल्ला दिन प्रधानमन्त्री दाहालले अघि सारेको संविधान संशोधन विद्येयकभित्र समेत आफ्नो मुद्धाको सम्बोधन हुन नसक्ने भन्दै अस्वीकार गरिरहेको छ । उसले त्यसलाई पूर्ण परिमार्जन गर्न माग गरिरहेको छ ।

त्यसैले मोर्चा दाहाल नेतृत्वको सरकारसँग समेत सशंकित छ । यद्यपि, भारतले भने सरकारले अघि सारेको संशोधन विद्येयकलाई समर्थन गर्न मोर्चालाई दबाब दिइरहेको छ । यही बीचमा एमालेले मधेसी मोर्चाको मन जित्ने काम गर्ने सम्भावना थियो तर उसले कुनै कोसिस गरेको देखिदैन । एमालेले त्यो काम गर्ने सम्भावना पनि अब अत्यन्तै कम छ किनभने सरकारको नेतृत्वमा रहँदा समेत उनीहरुको मागको सुनुवाई नगर्ने एमालेबाट मोर्चाले अहिले कुनै आशा गर्ने ठाउँ छैन । त्यसकारण पनि एमालेलाई मधेसमा निकै गाह्रो पर्न सक्ने देखिन्छ ।

देउवालाई दिएको संकेत अर्थपूर्ण
एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच आइतबार सिंहदरबारमा भएको भेट र त्यहाँ एमालेले दिएको संकेतका विषयमा अहिले व्यापक बहस भैरहेको छ ।

एमाले संसद अवरोध हटाउने विषयमा पछि हटेमा उसलाई धक्का लाग्नसक्ने विषयमा समेत बहसहरु हुने गरेका छन् तर एमालेले निर्वाचनको कार्यसुचीलाई मात्र बाटो छाड्ने, संशोधनको कार्यसुचीमा संसद अवरोध गरिरहने संकेत दिएपछि त्यो शंका त हटेको छ तर भोलीका दिनमा निर्वाचनमा सहकार्य गरेर जान सकिने कुरा र सरकार गठबन्धनको विषयमा समेत ओली र देउवाबीच आँखा जुधेको हो भने त्यसले निकै ठूलो अर्थ राख्ने विश्लेषकहरुको भनाई छ । यसले माओवादी नेतृत्वको सरकारलाई मात्र होइन, उसको अभियानलाई समेत निकै ठूलो धक्का लाग्न सक्ने धेरैको ठहर छ ।