पु.समाचार

शीर्ष नेताबीच स्थानीय निकायको निर्वाचन गर्ने सहमति भएलगत्तै सरकारले गर्यो नयाँ निर्णय

काठमाडौं । प्रमुख दलका शीर्ष नेताबीच पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गर्ने सहमति भएको भोलिपल्टै सरकारले संविधानअनुसार स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गरेको छ । गृह मन्त्रालयले बुधबार ‘स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७३’ संसद् सचिवालयमा दर्ता गरेको हो ।

नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचन गर्न सम्भव नहुने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गर्न शीर्ष बैठकमा राखेको प्रस्तावलाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको थियो । तर, गृह मन्त्रालयले संविधानले स्थानीय व्यवस्थापिका र स्थानीय कार्यपालिकाको व्यवस्था गरेअनुरूप संविधान कार्यन्वयनका लागि स्थानीय तहको निर्वाचन यथाशक्य छिटो सम्पन्न गर्नुपर्ने जनाई विधेयक दर्ता गरेको छ ।

गाउँपालिका, नगरपालिका र जिल्ला सभाको निर्वाचन प्रयोजनका लागि विधेयक ल्याएको हो । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगले भने आगामी फागुन मसान्तभित्रमा आफ्नो प्रतिवेदन बुझाउँदै छ, बिहीबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।