खेलकुद

आइस हक्की संघको टोली रुस लाग्यो

काठमाण्डौ । नेपाल आइस हक्की संघको एक टोली रुस गएको छ । रुसमा बिहीबारदेखि हुने तीन दिने विश्व हक्की फोरममा सहभागिता जनाउन संघका अध्यक्ष लोकबहादुर शाहीको नेतृत्वमा चार जनाको टोली रुस गएको हो ।

रुस जाने अन्य टोलीमा विमानस्थल निर्माण विज्ञ एवं संघका उपाध्यक्ष इञ्जिनियर अशोक श्रेष्ठ तथा संघका सल्लाहकारहरु टानका सीइओ हरि शर्मा र टानका प्रथम उपाध्यक्ष रामप्रसाद सापकोटा रहेका छन् ।

चार सय बढी रुसी र अन्तर्राष्ट्रिय डेलिगेट्सबीच हक्कीका बारेमा तीन दिनसम्म विज्ञहरुले प्रशिक्षण दिनुका साथै दुई वटा विशेष खेलसमेत हुनेछन् । संघका अध्यक्ष शाहीले यो फोरममा सहभागीता जनाएसंगै हक्कीबारे सम्पूर्ण ज्ञान हासिल हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालमा आइस रिंक बनाउन रुसको विशेष सहयोग मिल्ने विश्वाससमेत गरिएको छ ।  रुस गएको टोलीलाई संघका महासचिव गणेश रिमालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विदाइ गरे ।