राजनीति

आफ्नो सम्पतिबारे यसकारण ढाँटे प्रचण्डले !

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य मन्त्रीहरुले ढिलो गरी सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद गठन भएको करिब ५ महिनापछि उनीहरुले आफ्नो व्यक्तिगत सम्पति विवरण सार्वजनिक गरेका हुन् ।

सरकार निर्माण भएको यतिका दिन वितिसक्दा समेत सम्पति विवरण नबुझाएका दाहाल नेतृत्वको सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पति विवरणमा समेत आशंकाहरु उत्पन्न भएका छन् । त्यतिमात्रै होइन, प्रधानमन्त्री दाहालले गरेको सम्पति सार्वजानिकीकरणमा समेत विश्वास गर्ने आधारहरु नभएको टिप्पणी हुन थालेका छन् ।

प्रधानमन्त्री दाहालले आफ्नो सम्पति विवरणमा ३ तोला सुन र एक कठ्ठा जमिन सार्वजनिक गरेका छन् । त्यो पनि आफ्नो श्रीमती सिता दाहालको नाममा रहेको उल्लेख गरिएको सो विवरणलाई सर्वसाधारणहरुले प्रचण्डले देखाएको ढोगीं प्रवृत्तिको संज्ञा दिएका छन् र चर्को आलोचना हुन सुरु भएको छ ।

वास्तवमा प्रधानमन्त्री दाहालको देखिने सम्पति मात्रै पनि सर्वसाधारणले नपत्याउने किसिमको छ । उनी आलिसान महलमा बस्छन् । करोडौं रुपैयाँ पर्ने गाडी चढ्छन् र लाखौं रुपैयाँ पर्ने मोबाइल सेट बोक्छन् लाखौ रुपौया भाडा तिरेर काठमाण्डौमा बस्छन् । यो सवालमा समेत प्रधानमन्त्रीले सम्पति विवरणमा उल्लेख छैनन् ।

यही सवालमा सर्वसधारणले सम्पति सार्वजजिक गरिने नियम र फर्ममा आधिकारिक नाममा नभएको सम्पतिलाई सम्पति नमानिने नियम छ कि के हो ? भने प्रश्न समेत गरिरहेका छन् । उनले दैनिक रुपमा गर्ने खर्च उनको सम्पति होकि होइन ? उनले चढ्ने गाडी उनको नाममा नहोला तर उनको जीवनसँग अनिवार्य रुपमा जोडिएको यी साधनहरुले समेत उनको जीवनमा उल्लेख्य रुपमा प्रभाव पार्ने गर्छन् ।

प्रधानमन्त्री दाहालले सार्वजनिक गरेको सम्पत्ति विवरणको बारेमा सामाजिक सञ्जालमा समेत चर्को आलोचना भैरहेको छ । सर्वसाधारणहरुले प्रचण्डले उल्लेख गरेको सम्पति विवरण भरपर्दो नभएको र उनले आफ्नो वास्तविक सम्पति लुकाएको आरोप समेत लगाएका छन् । सतहमा हेर्दा प्रधानमन्त्री दाहालको सम्पत्ति निकै छ जस्तो देखिन्छ तर कुनैपनि सम्पति विवरण आफ्नो नाममा नरहेको उनले उल्लेख गरेको विवरणबाट पुष्टि हुन्छ ।

दाहालले छोरा प्रकाश र छोरीहरुको नाममा रहेको सम्पत्ति समेत उल्लखे गरेका छैनन् । त्यतिमात्र होइन, मुलुकको सर्वोच्च पदमा रहेका उनले आफ्नो बैंक खाता र त्यसमा रहेको रकमको समेत विवरण उल्लेख नगर्नु लाजमर्दो विषय भएको भन्दै टिप्पणी सुरु भएको छ । देशको प्रधानमन्त्रीको नाममा बैंक खाता हुनु स्वाभाविक हो र त्यो खातामा उनको नाममा आउने मासिक तलब र भत्ता जम्मा हुनु पनि स्वाभाविक हो । यदि उनकै नाममा खाता नभएपनि उनको स्वकीय सचिवालयको सबैभन्दा नजिकको पात्र आफ्नै छोरा प्रकाशको नाममा बैंक खाता खोलेर सम्पति विवरण सार्वजनिक गर्न सक्थे । त्यो पनि उल्लेख नगरेपछि प्रचण्डले जनतालाई ढाँटेको स्वत पुष्टि हुन्छ । यदि उनले आफ्नो नाममा खाता नखोलेका हुन भने त्यो पनि बेइज्जतको कुरा हो ।

किन ढाँटे प्रचण्डले ?
देश र जनताका बीचमा नयाँ सपना बाँड्दै शसस्त्र युद्धको पृष्ठभूमिबाट आएका प्रचण्ड आफुलाई सर्वहारा जनताको नेता भन्न रुचाउँछन् । उनले अहिलेसम्म दिएका राजनीतिक नारानै आधारभूत जनताको मनोभावना र गाँस, वास र कपाससँग जोडिएको देखिन्छ तर उनले अख्तियार गरेका व्यवहारिक क्रियाकलापहरु हेर्दा ती मुद्धासँग कतै तालमेल देखिदैन । त्यसैले पनि उनले जनतालाई देखाउनका लागि यो विवरण उल्लेख गरेको हुनसक्ने धेरेको आंकलन छ ।

वास्तवमा प्रचण्ड यसबेला मासिक एक लाख ३ हजार रुपैयाँ मासिक भाडा तिरेर काठमाण्डौको लाजिम्पाटस्थित एउटा आलिसान महलमा बस्ने गर्छन् । उनी यसबेला सरकारी निवास बालुवाटारमा बस्दै आएपनि लाजिम्पाट निवास छाडेका छैनन् ।

उनको मासिक घरभाडा बाहेक अन्य मासिक खर्च २ लाख भन्दा बढी हुन्छ । त्यसको श्रोत के हो ? सो विषयमा समेत उनले उल्लेख गर्न कन्जुस्याई गरेका छन् । प्रचण्डले यसो किन गरे त ? जानकारहरुका अनुसार कम्युनिष्ट नारा र पृष्ठभूमिबाट आएका उनले आफुलाई अझै लामो समयसम्म सो वर्गको नेतृत्व गर्ने ढोंग पार्न उनले त्यसो गरेको हुनसक्ने बताइन्छ ।

प्रधानमन्त्री दाहालको यसबेला आउने सरकारी तलब–भत्ता, उनको छोरा प्रकाश दाहालको निजी सचिवको तहमा आउने तलब भत्ता, पार्टी हेडक्वार्टरका लागि स्थानीय पार्टीबाट उठ्ने मासिक लेबी र अन्य सुविधाहरु त देखिने आयश्रोत हुन तर प्रचण्डसँग यसअघि अदृष्य रुपमा ठूला–ठूला औधोगिक घरानाका व्यक्ति र राष्ट्रिय–अन्तर्राष्ट्रिय अदृष्य आम्दानीसँग सम्बन्ध गाँसिएका विषय जोडिएर खबरहरु बाहिर आउने गरेका छन् ।

पत्नी सिता र छोरीहरुको नाममा समेत विभिन्न खबरहरु बाहिर आउने गरेका छन्, त्यसले भने उनलाई सँधै शंकाको घेरामा पारिरहेको छ, यसबाट उनले खुल्ला रुपमा सम्पति विवरण दिए मात्र उनको छबि निश्कलंक हुने जानकारहरु बताउँछन् ।