विशेष

जब उनीहरुले कुलमान घिसिङ आउने बाटो हेरिरहे…!

काठमाण्डौ । सँधैजसो व्यस्त रहने राजधानी काठमाण्डौमा प्रायजसो राजनीतिक दलहरुको साना–ठूला जुलुसहरु र सभाहरुको आयोजना भैरहन्छ । मुलुककै राजधानी भएकोले पनि राजनीतिक पार्टीहरुको केन्द्रीय सभा र विभिन्न प्रतिकात्मक विरोधका आवाजहरु सुनिनु राजधानीका लागि नौलो कुरा होइन । नेपालको लामो इतिहास हेर्दै आउँदा पनि राजनीतिक व्यवस्था र कर्मचारीतन्त्रको विरोधमा जनलहर बढिरहेको आभास हुन्छ ।

राजनीतिक दलका नेताहरुले दिने खोक्रा आश्वासन र कर्मचारीतन्त्रमा देखिएको चरम लापर्वाहीका कारण पनि सर्वसाधारणमा चरम निराशा आएको देखिदै आएको छ, तर यही बीचमा शनिबार काठमाण्डौमा एउटा अनौठो जुलुस र सभाको आयोजना भएको देखियो । यो सभा र जुलुसलाई किन पनि अनौठो भनिएको हो भने जुलुस जसको पक्षमा निकालिएको हो, ती पात्र न त्यहाँ उपस्थित थिए र न जुलुसको अघि–अघि ब्यानर समातेर हिडिरहेका थिए ।

शनिबार राजधानीमा निस्किएको यो जुलुस पछिल्लो समयमा नेपाली समाजले एउटा आशालाग्दो ‘बत्ती’ को रुपमा लिएर सबैको आँखामा चम्किरहेका र मनमा बसिरहेका कुलमान घिसिङको पक्षमा निस्किएको थियो । सयौं सर्वसाधारण जनता उनको पक्षमा नारा लगाएर सडकमा प्रदर्शन गरिरहेका थिए । काठमाण्डौको भित्री चक्रपथ भनेर चिनिने शहिदगेटदेखि खुल्लामञ्चसम्मको सडकमा घिसिङको पक्षमा प्रदर्शन गर्दा यो जुलुसमार्फत नेपाली समाजले एउटा विश्वासिलो वैकल्पिक शक्तिको अपेक्षा गरेको स्वतः बुझ्न सकिन्थ्यो ।

उज्यालो नेपाल अभियानले आयोजना गरेको यो कार्यक्रममा विवेकशील नेपाली समुहले व्यवस्थापन गरेको थियो । भृकुटीमण्डपबाट शुरु भएको र्याली खुल्लामञ्चमा गएर सभामा परिणत भएको थियो । घिसिङको पक्षमा भृकुटी मण्डपदेखि खुल्लामञ्चसम्म पुग्दा र्यालीमा सहभागीहरुले कर्णप्रिय नाराहरुदेखि विभिन्न गीत संगीतमार्फत नेपाली समाजले घिसिङजस्तै व्यक्तित्वको अपेक्षा गरेको म्यासेज दिइरहेका थिए । लाग्थ्यो, अब नेपाल र नेपाली समाजले यस्ता दर्जनौ कुलमानहरुको खोजी गरिरहेको छ ।

kulman

‘भ्रष्टाचारको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौ, कमिसन र चलखेलबाट प्राधिकरणलाई मुक्त पारौं’ भन्ने ब्यानरसहित निस्किएको सो र्यालीमा सहभागीहरुले कुलमानको पक्षमा नारा लेखिएका विभिन्न प्ले कार्डहरु समेत बोकेका थिए । ‘यो कुरा साँचो छ, देशलाई कुलमानको अझै खाँचो छ,’ ‘कुलमानज्यू, अझै अघि बढ्नु छ, जनता तिम्रो साथमा छ’,‘जुनसुकै सरकार आउ, कुलमानलाई नहटाउ’ भन्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर युवायुवतीदेखि बृद्धबृद्धा समेत र्यालीमा सहभागी भएका थिए ।

कुलमानको अनुहार हेर्ने आशा !
सरकारले चिलिमे हाइड्रोपावरका तत्कालीन कार्यकारी प्रमुख कुलमान घिसिङलाई गत भदौ २९ गते विद्युत प्राधिकरणको कार्यकारी प्रमुख बनायो । उनलाई प्राधिकरणको प्रमुख नियुक्त गरेलगत्तै मुलुकभर विभिन्न सकारात्मक र नकारात्मक प्रतिक्रियाहरु आइरहे र आइरहेका छन् । प्राधिकरणकै एउटा समुह उनको विरोधमा लागिरहेका खबरहरु समेत बाहिर आइरहेका छन् । तर ती कुनै षडयन्त्रहरुको वास्ता नगरी घिसिङले नेपाली समाजलाई एउटा राम्रो उपहार दिए ।

निकै लामो समयसम्म लोडसेडिङको मारमा परेको काठमाण्डौ उपत्यका लगायतका स्थानमा लोडसेडिङ मुक्त कार्यक्रमको घोषणा गरेर उनले सफलताउन्मुख काम गरे, त्यो कामले नेपालीहरुले उनलाई एउटा आशालाग्दो चम्किलो तारा (बत्ती)को रुपमा लिइरहेका छन् । उनै बलिरहेको बत्तीले नेपाली समाजलाई जतिबेर पनि बलिरहने, कहिल्यै ननिभ्ने लोडसेडिङमुक्त समाज दिए ।

त्यसैले पनि घिसिङको पक्षमा राजधानीमा एउटा आशालाग्दो जनलहर निर्माण भएको छ, जसले समाजलाई एउटा सकारात्मक संकेत दिएको छ । दशकौंदेखि हैरानी खेप्दै आएको नेपाली समाजले विकासको एउटा सकारात्मक संकेत पाएको छ र गरेपछि जे पनि हुँदोरहेछ भन्ने पाठ समेत सिकेको छ । त्यसैले अबका दिनमा कुलमानजस्ता हज्जारौ कुलमानहरु जन्मनुपर्छ भन्ने आवाज उठाउँदै यस्ता सयौं र्यालीहरु निस्कनुपर्छ ।

र्यालीमा सहभागी केही सर्वसाधारणहरुले कुलमान पनि सँगै भैदिएको भए अझ राम्रो हुने अपेक्षा गरेको उनीहरुको हाउभाउ र उत्साहजनक क्रियाकलापबाटनै थाहा पाउन सकिन्थ्यो तर त्यहाँ कुलमान थिएनन् । उक्त कार्यक्रममा किन उपस्थित भएनन् कुलमान ?

त्यो त आयोजक र सम्बन्धित पक्षलाई थाहा हुने कुरा भो, तर आयोजकको आन्तारिक कुरा नबुझेका र्यालीमा सहभागी सर्वसाधारणले भने उनको बाटो हेरिरहे ! न खुल्लामञ्चमा आयोजित सभामा केही मिनेटका लागि भएपनि कुलमान देखिपो हाल्छन् कि भन्ने आशाका दृष्टिहरु दौडाइरहे तर आएनन् कुलमान ! तर अन्तिममा यो कार्यक्रममा नआएपनि अर्को कार्यक्रममा कुलमानको अनुहार हेर्ने धोको बोकेर ती उत्साहित सर्वसाधारण आफ्नो बाटो लागे ।