पु.समाचार

प्रचण्डले एमालेलाई उल्टै यस्तो कडा आरोप लगाए

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले मधेश, पहाड र हिमाललाई एकताबद्ध पार्ने गरी संविधान संशोधन प्रस्ताव ल्याएको बताउँदै यसले राष्ट्रलाई अझ एकतावद्ध पार्ने स्पष्ट पारेका छन् । उनले एमाले लगायतका दलहरुप्रति संकेत गर्दै संशोधन प्रस्तावलाई राष्ट्रघाती भन्दै गलत प्रचार भइरहेको छ, यस्तो प्रचार गर्ने उनीहरुनै बिखण्डनकारी भएको बताए ।

आइतबार विराटनगरमा ने.क.पा.(माओवादी केन्द्र) प्रदेश नम्बर १ को प्रशिक्षण तथा बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । उनले हिजो एमाले स्वयंले अघि सारेको प्रस्ताव अहिले आफूले अघि सार्दा सदन अवरुद्ध गर्ने तथा ‘राष्ट्रघाती’ भन्दै बदनाम गर्ने काम एमाले नेतृत्ववाट भइरहेकोमा आपत्ति प्रकट गर्दै एमालेको यस्तो रबैयाले राष्ट्र बिखण्डन गर्न चाहनेहरुलाई फाइदा पुगेको बताए ।

‘अहिले संशोधन प्रस्ताव पेश हुन नदिने, निर्वाचन विधेयक पास गर्न नदिने, स्थानीय चुनाव गर्न नदिने र संविधान कार्यान्वयनमा भाँजो खाल्ने खेल भइरहेको छ । एमालेले ५ नं प्रदेशको कुरा उठाएको मात्र सिमांकनका लागि होइन, यसभित्र संविधान कार्यान्वयन नगर्ने र संघियता उल्ट्याउने उद्देश्य लुकेको छ । उसका सबै क्रियाकलाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र एकात्मकता तथा उच्च जातीय अहंकारवादी योजना कार्यान्वयन गराउन केन्द्रित देखिन्छन् ।’

प्रधानमन्त्रीले जन्मजात गणतन्त्र, संघीयता, समावेशिता र धर्म निरपेक्षताका बिरोधीहरुलाई आफूहरुले जनयुद्धका माध्यमवाट त्यसलाई मान्न बाध्य पारे पनि अहिले माओवादी केही कमजोर भएको ठानेर उनीहरु प्राप्त उपलब्धी खोस्ने षडयन्त्रमा लागेको प्रष्ट पारे ।
अहिले पार्टी र नेतृत्वबिरुद्ध अर्नगल र एकदमै झुठ्ठा प्रचार भइरहेको तर्फ इंगित गर्दै प्रधानमन्त्रीले भने ‘म प्रधानमन्त्री हुनासाथ बिरोधीले यसलाई बिदेशीले प्रधानमन्त्री बनायो, अब फाष्ट ट्याक विदेशीलाई दिन्छ भनेर प्रचार गरे, तर फाष्ट ट्याक नेपाली आफैले बनाउने मेरो निर्णयपछि उनीहरु गलत सावित भए ।

उनीहरुले फेरि अंगिकृतलाई राष्टपति बनाउछ भनेर हल्ला चलाए, त्यो पनि गलत सावित भएपछि हिन्दी भाषाको कुरा उठाए, यो पनि हल्ला मात्रै रहेछ भन्ने पुष्टि भएपछि अहिले माओवादी नेतृत्वलाई बदनाम गराउन हुँदै नभएका प्रचार गरिरहेका छन् । अव यसवाट कोही पनि भ्रममा पर्दैनन् । अरुका हल्लाका पछि दौडने होइन बास्तविकता बुझ्न म सबैलाई आग्रह गर्दछु ।’