पु.समाचार

देउवाका यी कुरा सुनेर चिनियाँ टोली निकै खुसी !

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एवम उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओ नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा सोमबार भएको सो भेटमा दुई देशका आपसी हित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको जनाइएको छ ।

नेपालको वर्तमान राजनीतिक घटनाक्रम र संविधान कार्यान्वयन सम्बन्धमा चिनियाँ टोलीले राखेको चासोको विषयमा सभापति देउवाले जानकारी गराउँदै नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको प्रतिवद्धता व्यक्त गरेका थिए । जबकि केही समयअघि सभापति देउवाले भारतको एक कार्यक्रममा स्वतन्त्र तिब्बत पक्षधर दलाई लामाका प्रतिनिधिसँग भेट गरेको भन्दै चीनले शंका व्यक्त गरेको थियो ।

सभापति देउवाले चिनियाँ टोलीसँग एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जानकारी दिएपछि उनीहरु निकै खुसी भएको समेत श्रोतले बताएको छ ।  सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य ल्युले नेपालको आर्थिक विकासमा चीनले सधैं सहयोग गरिरहने बताउँदै नेपाल र चीन जोड्ने कोदारी राजमार्ग छिट्टै सुचारु गर्ने विश्वास व्यक्त गरे ।

भेटका अवसरमा सभापति देउवालाई चीन भ्रमणका लागि निमन्त्रणा गरेकोमा उपयुक्त समय मिलाएर चीन भ्रमण गर्ने सभापति देउवाले जानकारी गराएका थिए ।