मनोरञ्जन

धुर्मुस-सुन्तलीलाई एउटै व्यक्तिले दिए ४० लाख

दुबई । तेश्रो एकिकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ । प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टिङ एण्ड जेनेरल क्लिनिङ कम्पनीको तर्फबाट एकिकृत नमूना मुसहर बस्ती निर्माणका उक्त सहयोग प्राप्त भएको हो ।

आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस–सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । नेफ्टा अवार्डमा सहभागी हुन हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई आउने खबर पाएकाले सहयोग हस्तान्तरणका लागि आफु आएको उनले बताए ।

उनले भने, ‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन, त्यसैले तेश्रो बस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण कतारबाट दुबई आइपुगेको हुँ ।’ उनले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ६ लाख रुपैँया नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए ।

आफुले सहयोग गर्न चाहेको व्यक्तिले राहात महसुस गर्ने गरी फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफुले सकेको सहयोग गरेको उनको भनाई छ । काम गरेर देखाउनेलाई सहयोग गरे एउटा–एउटा गरेर थुप्रै बस्ती निर्माण हुने निश्चित रहेको भन्दै उनले सकेको सहयोग गर्न सबैसँग आग्रह गरे ।

यस्तै, फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफुलाई निकै प्रफुल्लित तुल्याएको बताएका छन् । देश तथा विदेशमा बस्ने र नेपालको भलो चिताउने सबैले विकास चाहेका छन्, त्यो परिर्वतनको महसुस दिलाउन आफुहरु कटिबद्ध भएर लाग्ने उनको दृढता छ ।

मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन्, त्यसैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्न उनले अपिल गरेकी छन् ।