पु.समाचार

बाबुराम भट्टराईको प्रयास असफल

काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको मधेसवादी पार्टीसँग एकीकरण गर्ने प्रयास असफल भएको छ । उपेद्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण प्रयास असफल भएपछि कार्यगत एकता अघि बढेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग कार्यगत एकता गर्ने भट्टराईको चाहना पनि तत्कालका लागि असफल भएको छ।

नयाँ शक्तिसँग कार्यगत एकता गरेर आन्दोलनमा जानुपर्ने फोरम नेपाल अध्यक्ष यादवको प्रस्ताव मधेसी मोर्चाका साथै संघीय गठबन्धनका नेताले अस्वीकार गरेका छन् । मंसिरयता पटक पटक बसेको मधेसी मोर्चा र संघीय गठबन्धनको छुट्टाछुट्टै बैठकमा फोरम नेपाल अध्यक्ष यादवले भट्टराई नेतृत्वको नयाँ शक्तिसँग कार्यगत एकता गर्नुपर्ने प्रस्ताव गरेका छन्। तर, यादवको प्रस्ताव मधेसी मोर्चा एवं संघीय गठबन्धनका नेताले अस्वीकार गरेपछि तत्काललाई कार्यगत एकता नहुने भएको हो ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनले नयाँ शक्तिसँग कार्यगत एकता गर्न नसकिने प्रस्ट पारे । मोर्चा–गठबन्धन बैठकमा नयाँ शक्तिसँग कार्यगत एकता गर्नुपर्ने प्रस्ताव आएको बताउँदै उनले तत्काल त्यस्तो एकताको सम्भावना नरहेको जानकारी दिए।

‘मधेसी मोर्चा र संघीय गठबन्धन बैठकमै नयाँ शक्तिसँग कार्यगत एकता गर्नुपर्ने प्रस्ताव पटक पटक आएको छ,’ सुमनले भने, ‘मोर्चा र गठबन्धनको मुद्दा र मागसँग नयाँ शक्तिको तालमेल मिल्दैन्, त्यसैले त्यस्तो प्रस्ताव तत्काललाई हामीले अस्वीकार गरेका छौं।’

संविधान जारी गर्ने समयताका नयाँ शक्ति संयोजक भट्टराईको प्रमुख भूमिका रहेकाले उनकै कारण मधेस आन्दोलनमा धेरै सहिद भएको उनले बताए। ‘मधेसमा संविधानको विरोधमा आन्दोलन भइरहँदा भट्टराई संविधान जारी गर्ने कार्यमा सक्रिय थिए, मधेस आन्दोलनको भावनाविपरीत काम गर्नेसँग कसरी कार्यगत एकता गर्न सकिन्छ ?’ सुमनको प्रश्न छ।

फोरम नेपालका महासचिव रामसहाय यादवले नयाँ शक्तिबाट फोरम नेपालसँग पार्टी एकीकरण प्रस्ताव आएको स्वीकार गरेका छन्। नयाँ शक्तिबाटै एकीकरण प्रस्ताव आए पनि तत्काललाई सम्भावना नरहेको उनले बताए। ‘नयाँ शक्तिबाट एकीकरण प्रस्ताव आएको छ, तर हाम्रो पार्टीमा एकीकरणबारे केही निर्णय भएको छैन, त्यसको सम्भावना पनि अहिले छैन,’ यादवले राजधानीसँग भने, ‘नयाँ शक्तिसँग एकीकरण नभई तत्काललाई कार्यगत एकता मात्र हुन्छ।’