आर्थिक

बैंकहरुले घरजग्गा कारोबारमा ऋण दिन बन्द गरे

काठमाडौं । बैंकहरूले घरजग्गा कारोबार (रियल इस्टेट) मा ऋण दिन बन्द गरेका छन् । वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरूले बताएका छन् ।

‘सेयर धितोमा कर्जा दिन त केही साताअघिदेखि नै बन्द भइसकेको छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘अहिले रियल इस्टेटमा पनि कर्जा निरुत्साहित गर्न थालिएको छ ।’

मंगलबारको नयाँ पत्रिकामा लेखिएको छ, केही साताअघिदेखि नै तुलनात्मक रूपमा घरजग्गाको कारोबारमा ब्याजदर उच्च राखेर त्यस्तो कर्जा निरुत्साहित गर्न थालिएको उनले बताए । तरलता अभाव भएपछि पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्विसी रेसियो) उच्च दरमा राख्नुपर्ने घरजग्गा कारोबारमा लगानी गर्न बन्द गरिएको बैंकरहरूले बताए ।

नेपाल राष्ट्र बैंकको नियमअनुसार घरजग्गा कारोबार र मार्जिन प्रकृतिका कारोबारमा ऋण दिँदा बैंकले एक सय ५० प्रतिशत पुँजी पर्याप्तता अनुपात कायम गर्नुपर्छ । त्यसको मतलब घरजग्गा कारोबारमा बैंकले सय रुपैयाँ लगानी गर्न १५ रुपैयाँ पुँजी राख्नुपर्छ । जबकि, आवासीय घर निर्माणमा कर्जा दिँदा बैंकले ६ रुपैयाँ मात्रै आफ्नो पुँजी राखेर सय रुपैयाँ कर्जा दिन पाउँछ । सुन खरिद गर्न वा मुद्दति निक्षेपका आधारमा दिइने कर्जामा लगानी गर्न बैंकले पुँजी राख्नै पर्दैन ।

राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा नेपालका बैंक तथा वित्तीय संस्थाले घरजग्गा कारोबारमा ७४ अर्ब १७ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । आवासीय निर्माणमा भने बैंक तथा वित्तीय संस्थाले एक खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।