राजनीति

परराष्ट्रमन्त्री डा महत बुधबार स्वदेश फिर्ता

प्रकाश शरण महत

काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशसरण महत भारतको नयाँ दिल्लीमा आयोजित ‘राइसिना डाइलग’को दोस्रो संस्करणमा भाग लिई स्वदेश फर्कनुभएको छ ।

भारतका विदेशमन्त्री श्रीमती सुष्मा स्वराजको निमन्त्रणामा उक्त कार्यक्रम भाग लिई आज स्वदेश फर्कनुभएका मन्त्री डा महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो भारत भ्रमण फलदायी भएको बताउनुभयो ।

कार्यक्रममा उहाँले ‘बृहत् राजनीति र नयाँ चुनौती’ विषयमा मन्तव्य दिँदै विश्वले भोगिरहेको प्रमुख चुनौतीको सम्बोधन बहुपक्षीय प्रयासबाट गर्न सकिनेमा जोड दिएको जानकारी गराउनुभयो ।

मन्त्री डा महतले ‘छिमेकी प्राथमिकतामा’ भन्ने भारतीय विदेशनीतिको सराहना गर्दै सो नीतिको ठोस कार्यान्वयनका लागि व्यापार, लगानी, रेल–सडक तथा विद्युत् प्रसारण लाइनजस्ता पूर्वाधार र ठूला परियोजनाको संयुक्त विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

दुई दिन नयाँ दिल्ली बसाइका क्रममा उहाँले भारतीय अर्थमन्त्री अरुण जेटली, विदेश राज्यमन्त्री भिके सिंहसँग भेटवार्ता गरी नेपालमा आर्थिक सहयोग, भूकम्प पछिको पुनः निर्माण, द्विपक्षीय व्यापार तथा पारवहन, नेपालमा रहेको भारतीय रु पाँच सय र एक हजारको नोटको सटही गर्ने विषयमा पनि छलफल भएकोे जानकारी गराउनुभयो । रासस