राजनीति

२८ वर्षे उमेरहदबन्दी तत्काल सच्याउन नेविसङ्घको माग

काठमाडौँ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी सङ्घले आगामी फागुन १४ गते कुनै पनि हालतमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेको छ ।

नेविसङ्घ केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नैनसिंह महरले कुनै पनि बहानामा स्ववियुको निर्वाचन रोक्न नहुने माग गरेका छन् ।

गत पुस २० गते त्रिभुवन विश्वविद्यालय सिनेट बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्न गरेको निर्णयको स्वागत गर्दै उहाँले सिनेट बैठकले बिनाआधार उम्मेदवार हुन विद्यार्थीको उमेरहदबन्दी २८ वर्षे लगाउने निर्णय भने तत्काल सच्याउनुपर्ने बताए

नेविसङ्घले लामो समयसम्म स्ववियु निर्वाचन हुन नसकेको परिप्रेक्षमा कम्तीमा एकपटकका लागि उमेरको हदबन्दी नलगाई निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । साथै सङ्घले अन्य विद्यार्थी सङ्गठन र वर्तमान राजनीतिक परिवेशलाई मध्यनजर गर्दै मिश्रित निर्वाचन प्रणालीमा सहमत रहेको जनाएको छ ।

महामन्त्री सरोज थापाले केन्द्रीय समितिको निर्णयअनुसार सङ्घले स्ववियु निर्वाचनको तयारीका लागि अध्यक्ष महरको संयोजकत्वमा सात हजार एक सदस्यीय ‘स्ववियु निर्वाचन परिचालन तथा व्यवस्थापन मूल तयारी समिति’ गठन गरेको अवगत गराउँदै सबै विद्यार्थी सङ्गठनको सरसल्लाह र सहमतिमा यथाशीघ्र कार्यतालिका निर्माण गर्न त्रिवि प्रशासनसमक्ष माग गरे ।