खेलकुद

शनिबारदेखि खुल्ला राष्ट्रिय कराँते प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । गुह्येश्वरी बोर्डिङ हाइ स्कुलको आयोजनामा जिबीएचस कप खुला राष्ट्रिय कराँते प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न २४ जिल्लाका ३ सय पुरुष र १ सय महिला गरी जम्मा ४ सय खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सानुबाबु गिरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कुमुतेमा २२ र एकल कातामा २ गरी जम्मा २४ स्पर्धामा भिडन्त हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख खर्च हुने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु कपन मार्गको पिपलबोट बाँसवारीस्थित आयोजककै हातामा हुनेछ ।

पत्रकार सम्मेलनमा गुह्येश्वरीका निर्देशक डिआर लामिछानेले २०७१ सालमा अन्तर विद्यालय कराते प्रतियोगिता आयोजना गरिएकोमा यसलाई अझ बृहत बनाउन राष्ट्रियस्तरमा प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले अर्को वर्ष यो प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरुप दिने जानकारी गराए ।

नेपाल गोजुरियो कराते संघका अध्यक्ष सीपी घर्ती मगरले विद्यालयले आयोजना गर्ने प्रतियोगिताबाट प्रतिभावन खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताउदै खेलकुदको विकासमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे ।