खेलकुद

सातदोबाटास्थित टेनिस कोर्टमा भारतले चीनलाई हरायो

काठमाण्डौ । भारतका गुन्जन जाधव र अथर्व शर्माको जोडीले नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपको पुरुष डबल्स उपाधि शुक्रबार जितेका छन् । अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुन्जन र अथर्वको जोडीले चीनका पेनग्यु र ग्वाङसेन वेनको जोडीलाई ६–४ र ७–६(२) को सेटमा पराजित गरे ।

चीनकी छुन्झी गुओ र थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेडको जोडी महिला डबल्स च्याम्पियन बने । फाइनलमा उक्त जोडीले चीनका ना दोङ र मिङलाओ याङको जोडीलाई ६–२ र ६–४ को सोझो सेटमा हराए ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको महिला सिंगल्समा चीनकी मिङक्यु याङले भारतकी शिभानी स्वरुप इङलेलाई ७–६(३) र ६–१ तथा भारतकी वैदेही चौधरीले चीनकी युजिआओ छेलाई ६–१ र ६–३ ले पाखा लगाउदै फाइनलमा प्रवेश गरे ।

पुरुष सिंगल्समा दुई भारतीय खेलाडीबीच उपाधि भिडन्त हुने भएको छ । सेमिफाइनलमा मृत्युञ्जय बदोलाले भारतका अथर्वलाई ६–४ र ६–४ तथा कविर मनरायले भारतका पीयूष सुरेन्द्र सलेकरलाई ६–१ र ६–१ को सीधा सेटमा पन्छ्याउदै फाइनलमा स्थान बनाए । सर्किट १ को अन्तिम दिन शनिबार सिंगल्सको फाइनल हुनेछ ।