विशेष

यसरी सुरु भएको थियो भ्यालेन्टाइन डे, जुन प्रसंगले संसारलाई रुवाइदिन्छ !

एजेन्सी । फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि बिशेष दिन अर्थात् भ्यालेन्टाइन्स डे । रोमका सन्त भ्यालेन्टाइनको सम्झनामा मनाइने प्रेम दिवसको दिन हो यो । हुन त केहि नेपालीहरु हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्ण अष्टमि भएको तर्कमा जोड दिन्छन । त्यसैले अर्काको संस्कृति अनुसार प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाउन नहुने तर्क राख्छन । तर पनि भ्यालेन्टाइनले नेपाली समाजमा पनि जरो गाड्दै छ । भ्यालेन्टाइन्स डे के हो र कसरि सुरु भयो त यसको प्रचलन ?

Saint Valentine’s Day सामान्यतया: Valentine’s Dayको रुपमा प्रख्यात दिन हो फेब्रुअरी १४ । सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्वभरीका थुप्रै देशहरुमा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको रुपमा मनाइन्छ । पश्चिमा मुलुकहरुमा त नयाँ बर्षपछी धेरैले मनाउने बिदा नै भ्यालेन्टाइन्स डे भएको पनि बिश्वास गरिन्छ । पश्चिमा संस्कृति भएता पनि नेपालमा पनि भ्यालेन्टाइन्स डेले बिस्तारै जरो गाड्दै गइरहेको छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरु लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ ।

यो दिन कहाँबाट सुरुवात भयो, किन र कसरी मनाउने गरियो भन्ने कुरा कतिपयलाई अवगत नहुन पनि सक्छ । यो दिन कसरी सुरुवात भयो भन्नेमा बारेमा विभिन्न तथ्यहरु फेला परेको छन् जसको कथा निकै अनौठा तथा रोमाञ्चक पनि छन् । भ्यालेन्टाइन्स डेको पछाडी एउटा दुस्खद इतिहास लुकेको छ, जुन हामीमध्ये कतिपयलाई जानकारी नहुन पनि सक्छ ।

यो दिन सुरु हुनुको पछाडी भ्यालेन्टाइनको देन त छ नै तर भ्यालेन्टाइन को हुन् र उनको के योगदानले गर्दा यो दिनलाइ बिशेष रुपमा मनाउन थालियो भन्ने कुरामा भने थुप्रै बिचारहरु भेटिएका छन् । जसमध्ये एक क्रिस्चियन सहिदहरुलाई भ्यालेन्टाइनको पदवी दिने गरिएको र तिनै सहिद भ्यालेन्टाइनहरुको सम्झनामा भ्यालेन्टाइन्स डे मनाउन थालिएको भन्ने क्रिस्चियन दावीलाई क्रिस्चियनहरुले जोड दिन्छन ।

तर सर्वमान्य रुपमा भने रोमका पुजारी सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिनलाई भ्यालेन्टाइन्स डेको रुपमा मनाउने गरिएको कुरालाई नै बढी जोड दिएको पाइन्छ । इशापूर्व २६९ मा रोमका पुजारी सन्त भ्यालेन्टाइनलाई प्रेम गरेको र प्रेम गर्नेहरुको बिबाह गराएको आरोपमा राजा क्लाउडियसको आदेशमा फेब्रुअरी १४ कै दिनमा मृत्युदण्डको सजाय भयो । त्यसैले प्रेम गर्नेहरुको चाडको रुपमा यो दिनलाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डे मनाइन्छ । जतिबेला राजा क्लाउडियसले रोममा शासन गर्दथे त्यतीबेला त्यहाँका युवाहरुलाई प्रेम गर्न र बिबाह गर्न बन्देज लगाइएको थियो क्लाउडियसको सोच संसारलाई राज गर्ने थियो । जसका लागि उनले रोमका युवाहरुलाई सैनिकमा भर्ति गराएर युद्ध गर्दथे । तर यस्तो समय पनि आयो युवाहरु आफ्ना श्रीमतीको इच्छा र सन्तानको मायाले गर्दा युद्धमा जानका लागि सैनिकमा भर्ति हुन मान्न छाडे ।

शासकहरु क्रुर हुन्छन र उनीहरु आफ्नो फाइदाको लागि जस्तोसुकै कार्य गर्न पनि पछी पर्दैनन् । त्यसैले यिनले पनि यस्तै गरे प्रेम र बिबाहमा नै प्रतिबन्ध लगाइदिए राजा क्लाउडियसले सबै चर्चहरुमा विवाह नगराउन उर्दी जारि गराए । तर सन्त भ्यालेन्टाइनलाई यो कुरा मन परेन । न त युवाहरुलाई नै यो कुरा मन परेको थियो । तर यसको बिरोध गर्ने कसले ? यस्तैमा प्रेमका समर्थक, व्यक्तिगत स्वतन्त्रताका पक्षधर भ्यालेन्टाइन जीवनका प्रत्येक पक्षहरुलाई आनन्द र विवेकपुर्वक भोग्ने कुरामा बिश्वास राख्दथे । भ्यालेन्टाइनको समर्थकहरु पनि मानवता प्रेमी, कर्मठ युवा युवतीहरुको संख्या पनि व्यापक थियो । किनकि उनको शिक्षा प्रेम र भाइचारासंग सम्बन्धित थियो । उनि प्रेमलाई पुजाको रुपमा हेर्दथे ।

यस्तोमा राजा क्लाउडियसले भने १८ वर्ष पुगेका सबैलाई सैनिकमा भर्ति हुन र विवाह र प्रेम गर्न नै प्रतिबन्ध लागेपछि कयौं युवाहरु घरभित्र नै लुकेर बस्न बाध्य भए । यस्तोमा प्रेमका पुजारी भ्यालेन्टाइनले भने यसको बिरुद्धमा जाने निर्णय गरे । उनले राजाको बिरोध गर्ने विचार गरे उनको नजरमा प्रेम र विवाह भनेको पवित्र बन्धन थियो । जसलाई निषेध गर्नु उनको दृष्टिकोणमा गलत थियो । यसैले भ्यालेन्टाइनले गुप्त रुपमा प्रेमी जोडीहरुको विवाह गराईदिन थाले । उनले राजाको कदमको बिरोध स्वरूप यस्तो विवाहलाई एउटा अभियानको रुपमा चलाएका थिए ।

यस्तो विवाह राति राति मात्रै हुन्थ्यो र उनकहाँ विवाह गर्न न बाबु आमा चाहिन्थ्यो न त साथीभाई र इष्टमित्रहरु नै । केवल भगवानलाई साक्षी राखेर विवाह गरिन्थ्यो । तर यो शिलशिला धेरै दिन रहन पाएन । राम्रो काम गर्नेको मित्रसंगै शत्रु पनि बढ्छन । उनमा पनि यहि कुरा लागु भयो । उनको त्यो कामको रिपोर्ट राजाकोमा पुग्यो । राजा क्लाउडियसले उनलाई तुरुन्तै बन्दि बनाए । तर भ्यालेन्टाइन अलिकति पनि डगमगाएनन किनकि उनको नजरमा उनले गल्ति वा पाप गरेकै थिएनन । उनले त केवल दुइ आत्माको मिलनमा सहयोग गरेका थिए ।

क्लाउडियसले भ्यालेन्टाइनलाई जेल पठाएर उनलाई मृत्युदण्डको सजाय सुनाए । तर पनि उनि खुशी खुशी बाँचेका थिए जेलमा उनलाई धेरै मानिसहरु भेट्न आउंथे जसमध्ये जेलरकी छोरी पनि एक थिइन् । भेट गर्ने क्रममै भ्यालेन्टाइन र जेलरकी छोरीको बिचमा पनि बिस्तारै आत्मियता बढ्यो र उनीहरु बिचमा प्रेम भयो । तर दुर्भाग्य भ्यालेन्टाइनलाई फेब्रुअरी १४ को दिन फाँसी हुने सजायँ सुनाइयो । आफ्नो जीवनको अन्तिम दिन अर्थात् मृत्यु भन्दा अगाडी भ्यालेन्टाइनले जेलरकी छोरीलाई अन्तिम संदेश पठाएर आफु संसारबाट बिदा हुँदै गरेको जानकारी गराएका थिए । उनले चिट्ठीको अन्तमा लेखेका थिए तिम्रो भ्यालेन्टाइन । त्यसैले फेब्रुअरी १४ लाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डेको रुपमा मनाउन थालिएको हो ।

यदि तपाईले पनि कसैलाई प्रेम गर्नुभएको छ । तर आफ्नो मनको कुरा उनलाई भन्न सक्नुभएको छैन भने फेब्रुअरी १४ तपाईको लागि उचित समय हुन सक्छ । किनकि यो दिनलाई प्रेम गर्नेहरुले बिशेष दिनको रुपमा हेर्छन । र यो दिनमा आएका प्रस्तावहरुलाई पनि प्रेम गर्नेहरुले सकारात्मक रुपमा नै लिन्छन त्यसैले फेब्रुअरी १४को सुनौलो अवसर नगुमानुहोस । –इनेट नेपालको सहयोगमा