खेलकुद

सोतोकान कराँते प्रतियोगिताको उपाधि सीतापाइला स्कुललाई

काठमाडौं । सीतापाइला स्कुलले सातौं राष्ट्रिय विद्यालयस्तरीय सोतोकान कराँते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सीतापाइला १० स्वर्ण, ७ रजत र ५ कांस्यसाथ टिम च्याम्पियन बनेको हो । आयोजक शिशु निकुञ्ज उमावि ८ स्वर्ण, ६ रजत र ५ कांस्यसहित दोश्रो भयो । ४ स्वर्ण, ८ रजत र १० कांस्य जितेको कान्तिपुर एकेडेमीले तेश्रो स्थानमा चित्त बुझायो ।

नेपाल सोतोकान कराते डो संघको वार्षिक कार्यक्रम अनुसार आयोजित प्रतियोगिताको पुरुषमा सीतापाइलाका प्रदीप राई तथा महिलामा शिशु निकुञ्जकी कुसुम तामाङ उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पा, जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक विसनसिंह खड्का, नेपाल गोजुरियो कराते डो संघका महासचिव एवं प्रमुख प्रशिक्षक बीआर मित्र, बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष ध्रुवविक्रम मल्ल, शिशु निकुञ्जका प्रिन्सिपल प्रकाश शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा सोतोकान कराते संघले शिशु निकुञ्जलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो । दुईदिने प्रतियोगितामा विभिन्न १५ विद्यालयका ४ सय खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।