आर्थिक

महालेखा परीक्षकको कार्यालयले दियो एनसेललाई निर्देशन

axiata-company

काठमाडौं । सरकारले एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने सरकारको निर्णय माइन्युट नहुँदै महालेखा परीक्षक कार्यालयले एनसेलसँग पुँजीगत लाभकर तिराउन निर्देशन दिएको छ । महालेखाको प्रारम्भिक प्रतिवेदनमा एनसेललाई कर तिराउन निर्देशन दिइएको हो ।
मंगलबारको अन्नपूर्णमा लेखिएको छ, मन्त्रिपरिषद्को बुधबारको उक्त बैठकका लागि अर्थले पठाएको कार्यसूचीमा महालेखाको प्रारम्भिक प्रतिवेदन समावेश थियो । तर उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले महालेखाको प्रतिवेदनमा भएको कर असुल गर्नू भन्ने कुरा बैठकमा नराखी टेलियासेनेरालाई कर तिराउने निर्णय गर्न मौखिक प्रस्ताव राखेका थिए । कार्यालयले ३५ दिनभित्र कर तिराएको प्रमाण वा बेरुजुमा समावेश गर्न नपर्ने कुनै कारण भए प्रमाणसहित पेस गर्न निर्देशन दिएको छ ।

एनसेलको फाइल अध्ययनपछि महालेखाले ३६ अर्ब रुपैयाँ कर असुल गर्नुपर्ने ठहर्याएको छ । एनसेलले करिब १० अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेकाले अब २६ अर्ब रुपैयाँ तिराउन उसको निर्देशन छ । तर एनसेल कर प्रकरणको समग्र छानबिन नगरी यति नै तिराउनुपर्छ भन्न सकिने अवस्था छैन । एनसेलले छानबिनका लागि अत्यावश्यक सेयर खरिदबिक्री सम्झौता (एसपीए) नै पेस गरेको छैन । खरिदबिक्रीअघिको ड्युडिलिजेन्स रिपोर्ट (डीडीए) पनि पेस गर्न उसले इन्कार गरेको थियो ।

स्रोतहरूका अनुसार एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने नियतले मन्त्रिपरिषद्ले गरेको निर्णय माइन्युट नै नहुने सम्भावना छ । मन्त्रिपरिषद्ले बुधबार बिक्रेता टेलिया कम्पनीसँग पुँजीगत लाभकर तिराउने निर्णय गरी एनसेलमाथि कर माग गर्ने काम बन्द गराउन खोजेको थियो । मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार सबै कुरा प्रस्ट भए सामान्यतया भोलिपल्टै माइन्युट तयार हुन्छ । तर अस्पष्ट वा कुनै कागजपत्र आवश्यक पर्ने आदि भए कयौं साता लाग्न पनि सक्छ ।