पु.समाचार

भारतभन्दा नेपालमा सस्तो भएपछि यस्तो छ पेट्रोल तस्करीको नयाँ तरिका

वीरगंज । विगतमा सीमावर्ती भारतीय सहर रक्सौल जाने नेपालीले त्यहाँबाट मोटरसाइकलमा पेट्रोल भरेर फर्किन्थे । पछिल्लो समय दृश्य फेरिएको छ । हिजोआज रक्सौलबाट मोटरसाइकलमा पेट्रोल हाल्न वीरगन्ज आउन थालेका छन् । भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि उनीहरूको गन्तव्य वीरगन्ज बनेको हो ।

पेट्रोल र डिजल दुवै इन्धन सस्तिएपछि तस्करी हवात्तै बढेको हो । नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा र भारतमा प्रतिलिटर नेपाली रुपैयाँ १ सय १८ रुपैयाँ ४० पैसा रहेको छ । त्यसैगरी डिजलको मूल्य नेपालमा प्रतिलिटर ७६ रुपैयाँ ५० पैसा र भारतमा १ सय रुपैयाँ ४८ पैसा रहेको छ । इन्धन सस्तो हुँदा मुख्य नाकाबाटै एक अर्को मुलुकका बासिन्दाले व्यक्तिगत प्रयोगका लागि इन्धन भर्नु सामान्य भए पनि जिल्लाको ग्रामीण नाकाबाट भने दैनिक ठूलो परिमाणमा इन्धन तस्करी भएर भारत पुग्दै छ । पछिल्लो समय भिस्वा, जानकीटोला, पिडारीगुठीलगायतका नाकाबाट इन्धनको तस्करी बढी हुने गरेको स्थानीय बताउँछन् ।

विशेषगरी रातको समयमा तस्कर गिरोहले ग्यालेन, ड्रम आदिमा भरेर इन्धन भारत लग्ने गरेका छन् । प्रहरीसँग मिलेमतोमा तस्करी सम्भव हुने स्थानीयको आरोप छ । ‘प्रहरीको मिलेमतोबिना सम्भव छैन,’ सेढवाका एक स्थानीयले भने । प्रहरीले भारततर्फ इन्धन लग्दै गरेका तस्करलाई पक्राउ गरे पनि त्यस्तो इन्धन भन्सार नपठाई आफैं छाडिदिने गरेको उनले बताए । वीरगन्ज भन्सार नाकाबाट पनि ३ महिनायता पेट्रोल र डिजलको आयात ह्वात्तै बढेको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । कान्तिपुरका अनुसार पुस महिनामा यो नाकाबाट १७ हजार ६ सय २० किलोलिटर पेट्रोल र ५३ हजार १ सय २२ किलोलिटर डिजल आयात भएको थियो । माघमा १८ हजार ९ सय २४ किलोलिटर पेट्रोल र ५६ हजार २ सय २६ किलोलिटर डिजल आयात भएको थियो । फागुनमा २० हजार ८५ किलोलिटर पेट्रोल र ५९ हजार ८ सय २५ किलोलिटर डिजल आयात भएको छ ।

आयल निगमको तुलनात्मक तथ्यांकले पनि पर्सामा मात्रै अचानक इन्धनको माग बढेको देखिएको छ । निगम क्षेत्रीय कार्यालयको तथ्यांकअनुसार मंसिरमा जिल्लाका पेट्रोल पम्पले कुल ५ लाख ७९ हजार लिटर पेट्रोल र ३० लाख ६९ हजार लिटर डिजल लगेका थिए । फागुनमा ७ लाख २६ हजार लिटर पेट्रोल र ३२ लाख २७ हजार लिटर डिजल लगेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञ भट्टराईले इन्धन तस्करीमा संगठित गिरोह नभई प्रहरीको आँखा छलेर तस्करी गर्ने साना तस्कर संलग्न भएको हुन सक्ने आशंका व्यक्त गरे । उनले भने, ‘इन्धन तस्करी जे जस्तो अवस्थामा भए पनि त्यसलाई नियन्त्रण गर्ने प्रयासमा हामी लागेका छौं ।’