राजनीति

आखिर के चाहान्छन् विप्लव ? श्रृंखलाबद्ध बम आतंक हुँदा पनि सरकार किन मौन ?

काठमाण्डौ । निर्वाचन विथोल्न आफैले बोकेको बम विष्फोट भई सोमबार राती विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ताको कैलालीमा मृत्यु भएको छ । सो घटनामा विप्लवका २९ वर्षीय कार्यकर्ता चन्द्र सिंह (सनराइज)को मृत्यु भएको हो । आफुले बोकेको बम विष्फोट भई सख्त घाइते भएका उनलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उनी विप्लव नेतृत्वको माओवादीका कैलाली जिल्ला सदस्य हुन् ।

सोमबार राती भएको यो घटनाले केही दिनअघि देखि तीव्र रुपमा भएका बम आतंकका घटनाहरुमा विप्लव समुहको हात रहेछ भन्ने थप पुष्टि भएको छ । पूर्व माओवादी नेता समेत रहेका विप्लवले सबैतिर बमहरु राखेर तर्साउने गतिविधि गरिरहेका छन् ।

उनले मतदाताहरुलाई तर्साउने गतिविधि गरिरहँदा सर्वसधारणको जीवन थप असुरक्षित बन्दै गइरहेको छ । आखिर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहले लोकतान्त्रिक अभ्यासमा रहेका जनतामाथि यसरी किन निशाना साँधिरहेका छन् ?

नयाँ जनवादी क्रान्तिको नाममा सर्वसाधारण जनताले किन दुःख पाइरहेका छन् ? उनले पछिल्ला दिन सर्वसाधारण जनताका छोराछोरीलाई जोखिमपूर्ण काममा होमिदिएका छन् । स्थानीय निकायको निर्वाचन भाँड्ने नाममा बम बोकेर हिडेका चन्द्र सिंहको शरीर बमले क्षतविक्षत पारिदिएको छ ।

उनका हातका औंला र गुप्तांग चुडिएको छ । शरीरका अधिकांश भाग बमले छिया-छिया पारिदिएको छ । त्यतिमात्र होइन, केही दिनअघि नवलपरासीको सुनवलमा भएको बम विष्फोटका कारण सर्वसाधारण जनताका छोराछोरीहरु घाइते भएका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उम्मेद्वारका घर घरमा बम राख्दै आतंक मच्चाउने काम भएको छ । विप्लवका यी गतिविधिबाट क्रान्तिको नाममा जनताको अधिकारमाथि ठाडो हस्तक्षेप भएको पुष्टि हुन्छ ।

सरकार किन मौन ?
स्थानीय निकायको निर्वाचनको पूर्वसन्ध्यामा भइरहेका श्रृंखलाबद्ध बम आतंकका घटनामा सरकार मौन देखिएको छ । पछिल्ला ४ दिनदेखि लगातार रुपमा बम आतंकका घटनाहरु भैरहेका छन् । गृहमन्त्री जनार्दन शर्मा मतदान स्थलमा सुरक्षा व्यवस्था राम्रो भएको कुरा फलाक्दै हिडिरहँदा मेयरको ढोकादेखि मतदानस्थलसम्मै बम आतंकका घटनाहरु बढिरहेका छन् ।

यो आतंकको बारेमा गृहमन्त्री शर्माले भने कुनै प्रतिक्रिया दिएका छैनन । नेत्रविक्रम चन्द विप्लव कुनैबेला गृहमन्त्री शर्मासँग सँगै हिडेका सहयोद्धा हुन् । उनको नेतृत्वमा यो गतिविधि हुँदा गृहमन्त्री शर्माले किन मौनता साँधिरहेका छन् ।

यो गम्भीर विषय बन्दै गएको छ । सोमबार मौन अवधिको समयलाई समेत बेवास्ता गर्दै एमाले अध्यक्ष ओलीले समेत बम आतंकको घटनामा सरकार मौन रहेको आरोप लगाएका छन् ।

यो विषयमा सरकारले तुरुन्तै एक्सन लिनुपर्ने देखिन्छ । चुनावको पूर्वसन्ध्यामा देखिएका यी घटनाले मतदान प्रक्रियामा मात्र होइन, मतदाताको मनोविज्ञानमा समेत गम्भीर असर पर्ने भएकोले यसमा सरकारले तुरुन्तै हस्तक्षेप गर्नुपर्ने जानकारहरु बताउँछन् ।