२३ जेठ, काठमाडौँ । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले आज काठमाडौँमा प्रदर्शन गरेको छ ।
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले काठमाडौँको माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए । साथै उनीहरूले नेपाली माटोको रक्षा गरौँ, राष्ट्रको सम्मान जोगाऔँ, गैर जिम्मेवारी अभिव्यक्तिको विरोध गरौँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सो क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए ।
उनले हरेक देशको सीमा समस्या रहेको भन्दै सीमा समस्या र सीमा मिच्ने विषय फरक भएको उल्लेख गरे ।





