ब्रेकिङ न्युज

डिजेललाई चुनौती दिँदै भारतमा चल्यो पहिलो हाइड्रोजन ट्रेन

१ साउन, काठमाडौं ।  भारतले रेल क्षेत्रमा नयाँ प्रविधिको सुरुवात गर्दै पहिलो हाइड्रोजन ट्रेन सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनबाट उक्त वातावरणमैत्री रेलको औपचारिक उद्घाटन गरेका हुन्।

हाइड्रोजन प्रविधिमा आधारित यो ट्रेन जिन्द–सोनिपत रुटमा सञ्चालन हुनेछ। करिब ९० किलोमिटर दूरी तय गर्ने यो रेललाई भारतको स्वच्छ ऊर्जा अभियानतर्फको ठूलो कदमका रूपमा हेरिएको छ।

डिजेल र पेट्रोलको प्रयोगबिना चल्ने यो ट्रेन हाइड्रोजन फ्युल सेल प्रविधिमा आधारित छ। यसबाट कार्बन उत्सर्जन शून्य हुने दाबी गरिएको छ। ट्रेनको डिजाइन गति प्रतिघण्टा ११० किलोमिटर रहेको छ भने यसमा करिब २ हजार ६ सय यात्रु बोक्ने क्षमता रहेको बताइएको छ।

३ हजार २ सय हार्सपावर क्षमताको यो रेल विश्वकै शक्तिशाली हाइड्रोजन ट्रेनमध्ये एक भएको भारतीय अधिकारीहरूले दाबी गरेका छन्।

प्रधानमन्त्री मोदीले उद्घाटन कार्यक्रममा भारतीय रेल्वेले पछिल्ला वर्षहरूमा ठूलो परिवर्तन हासिल गरेको बताए। उनले आधुनिक प्रविधि र वातावरणमैत्री यातायात प्रणाली विकासमा भारत अघि बढिरहेको उल्लेख गरे।

यसै अवसरमा मोदीले १५७ किलोमिटर लामो दिल्ली–अमृतसर–कटरा एक्सप्रेसवेको पनि उद्घाटन गरेका छन्। उक्त एक्सप्रेसवे सञ्चालनमा आएपछि दिल्लीदेखि कटरासम्मको यात्रा समय १४ घण्टाबाट घटेर करिब ६ घण्टामा सीमित हुने अपेक्षा गरिएको छ।

भारतीय रेल्वेले आगामी दिनमा हाइड्रोजन ट्रेन प्रविधिलाई अन्य रुटमा पनि विस्तार गर्ने तयारी गरेको जनाएको छ।