१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मनोनीत महामन्त्री पदका लागि प्रधानमन्त्री बालेन शाह पक्षबाट सुदीप ढकालको नाम अघि सार्ने तयारी भइरहेको चर्चा सुरु भएको छ।
पहिलो महाधिवेशनबाट १ हजार ४३९ मत ल्याएर केन्द्रीय सदस्य बनेका ढकाल हाल प्रधानमन्त्री शाहको सचिवालयमा प्रशासन प्रमुखका रूपमा कार्यरत छन्। बालेननिकट नेताहरूले संगठन सञ्चालनमा थप सक्रिय व्यक्ति आवश्यक रहेको भन्दै ढकाललाई महामन्त्रीका लागि अघि सार्न खोजेको बताइएको छ।
रास्वपाभित्र हालका महामन्त्री भूपदेव शाहको भूमिकालाई लिएर बालेन पक्ष असन्तुष्ट रहेको स्रोतको दाबी छ। महाधिवेशनमा आफ्नो समूहका उम्मेदवारलाई जिताउन तथा संगठन विस्तारमा अपेक्षित भूमिका निर्वाह नगरेको भन्दै नयाँ व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने धारणा उक्त पक्षले राखेको बताइएको छ।
रास्वपाको विधानअनुसार सभापतिले ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ। तर पार्टीभित्र सहमति जुट्न नसक्दा मनोनयन प्रक्रिया अझै टुंगिएको छैन।
स्रोतका अनुसार ५१ जना मनोनीत केन्द्रीय सदस्यमध्ये बालेन पक्षले करिब १८ जना पाउने गरी आन्तरिक छलफल भइरहेको छ। यसमा सांसद नभएका तर पार्टी संगठनमा सक्रिय व्यक्तिहरूलाई प्राथमिकता दिने तयारी रहेको बताइएको छ।
यता, गृहमन्त्री सुधन गुरुङ पक्षले पनि केन्द्रीय सदस्यमा आफ्नो समूहको प्रतिनिधित्व खोजेको चर्चा छ। उनले ‘जेनजी’ पुस्ताका सात जनालाई केन्द्रीय समितिमा समेट्नुपर्ने धारणा राखेको स्रोतको भनाइ छ। यद्यपि पार्टीका केही नेताहरूले गुरुङले प्रत्यक्ष रूपमा भाग नमागेको, तर उनका निकट व्यक्तिहरूले अवसर खोजेको दाबी गरेका छन्।
रास्वपामा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको विषयमा आन्तरिक शक्ति सन्तुलन मिलाउने प्रयास भइरहेका बेला महामन्त्री पदमा सुदीप ढकालको नाम चर्चामा आएको हो।





