राजनीति

कांग्रेस नेता महेश आचार्यले किन लगाए सभापति देउवालाई यति कडा आरोप !

काठमाण्डौ । नेपाली कांग्रेसले केही दिनअघि दुई नम्बर प्रदेशको चुनाव केन्द्रीत भेलाको आयोजना गर्यो । तेश्रो चरणको चुनावमा अब कसरी अघि बढ्ने र त्यहाँको मतपरिणाम कसरी आफ्नो पक्षमा पार्ने भन्ने विषयमा समेत भेला केन्द्रीत रहेको थियो । भेलाले पाँचवुँदे राजनीतिक प्रस्ताव लगायतका केही महत्वपूर्ण प्रस्ताव पास गरेको थियो । भेलामा पार्टी नेताहरुबीच दोश्रो चरणको चुनावी परिणामको विषयलाई लिएर घोचपेच भएको थियो । त्यसको लगत्तै शनिबार सो पार्टीको केन्द्रीय समिति बैठक बस्यो । भेलामा भन्दा अझ बढी आरोप–प्रत्यारोप केन्द्रीय समिति बैठकमा भएको श्रोतले बताएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री अधिकांश केन्द्रीय सदस्यहरुले देउवाको कडा आलोचना गरिएको श्रोतको दाबी छ । दोश्रो चरणको चुनावी परिणाम र सरकार विस्तारको विषयमा बैठकमा चर्को बहस भएको र रामचन्द्र पौडेल पक्षधर नेताहरुले अझै बढी देउवाको आलोचना गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले त सभापति देउवालाई अब राजा मानेर बस्न नसकिने भन्दै उनको कडा आलोचना गर्नुभएको बताइएको छ । नेता आचार्यले बैठकमा भनेका थिए,‘जनताले निर्वाचित गरेर जहाँसम्म पुर्याउनुपर्ने हो, त्यहाँसम्म पार्टी सभापतिलाई हामीले पुर्यायौं, अब हामी उहाँलाई राजानै बनाउन चाहि सक्दैनौ ।’

नेता आचार्यले प्रधानमन्त्री देउवा सरकारमा पुगेपछि राजा जस्तो भएको र अन्य नेता कार्यकर्ताचाहि प्रजाजस्तो भएको भन्दै उनको कडा आलोचना गरेका थिए । नेता आचार्यले बैठकमा त्यति चर्को आलोचना गरिरहँदा बैठक हलनै स्तब्ध भएको श्रोतको दाबी छ । महेश आचार्य कांग्रेसभित्र रामचन्द्र पौडेल पक्षधर नेताका रुपमा चिनिन्छन् ।

कांग्रेसको तर्फबाट उनलाई सरकारको अर्थमन्त्री बनाउने तयारी रहेपनि सभापति देउवाले आफ्नो एकल निर्णयमा ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्री बनाएका थिए । त्यसकारण पनि नेता आचार्य सभापति देउवाप्रति आक्रमक भएको अनुमान गरिएको छ । बैठकमा अन्य नेताहरुले समेत सभापति देउवा र पार्टी नेतृत्वको चर्को आलोचना गरेको जनाइएको छ ।

दोश्रो चरणको निर्वाचनपछि कांग्रेसले अधिकांश केन्द्रीय सदस्यहरुको उपस्थितिमा पहिलोपटक केन्द्रीय समिति बैठक डाकेको थियो । कांग्रेस केन्द्रीय समिति बैठक पहिलो र दोश्रो चरणको चुनावी समिक्षा र तेश्रो चरणको चुनावको तयारी गर्ने उद्धेश्यका साथ बोलाइएको हो । बैठकमा आगामी चुनावी रणनीति, सरकार विस्तार, संविधान संशोधन लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।