कृषि

धरानमा कृषिजन्य वस्तुको प्रशोधन केन्द्र निर्माण गरिने

इटहरी । वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले प्रदेश नं १ को धरानमा कृषिजन्य वस्तुको प्रशोधन केन्द्र निर्माण गर्ने विषयमा मन्त्रालयले विशेष योजना बनाई रहेको बताएका छन् ।

नेपाली काँग्रेस धरानले सोमबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उन्ले प्रशोधन केन्द्र बनेपछि कृषि उत्पादनको निर्यात बढेर अर्थतन्त्रको सुधारमा महत्वपूर्ण योगदान थपिने विश्वास व्यक्त गरे ।

मन्त्री विश्वकर्माले पूर्वी नेपालका तराई तथा पहाड र हिमाली क्षेत्रमा उत्पादन हुने कृषिजन्य उत्पादन तथा रुद्राक्ष, अदुवा, बेसार, सुपारी, चिराइतो, पाँचऔँले र अमलालगायत जडीबुटीको उत्पादन, प्रशोधन, प्याकेजिङ र लेबलिङ सम्बन्धी तालीम सञ्चालन गर्न मन्त्रालयले विशेष कार्यक्रम ल्याउने जानकारी पनि दिए ।

अहिले भारतले नेपालको अदुवा निर्यातमा रोक लगाएको विषयमा सरकार गम्भीर बनेको उल्लेख गर्दै उनले कृषिजन्य उत्पादनको प्रशोधन एवं स्तरीकरण र लेबलिङ गरेपछि नेपालको उत्पादन विभिन्न मुलुकमा निर्यातयोग्य बन्ने र यसबाट नेपाली किसानले राम्रो मुनाफा आर्जन गरी देशलाई समेत आर्थिक रुपमा सबल तुल्याउन योगदान पुग्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले धरानवासीले अनुभूति गर्न सक्ने गरी काम गर्न मन्त्री विश्वकर्मालाई आग्रह गरे ।

नगर सभापति तिलक राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, लोकेन्द्र फागोलगायतले आ– आफ्नो धारणा राखेका थिए ।