स्वास्थ्य

अनशन तोडिएला त डा.केसीको ? प्रधानमन्त्रीले आज सरोकारवालासंग छलफल गर्दै

काठमाण्डौ, २० साउन । अनसनरत प्राध्यापक डा. गोविन्द केसीको मागका विषयमा आज प्रधानमन्त्री शेर बहादुर देउवाले सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्दैछन् । पछिल्लो ११ औ पटकको आज १२ दिनमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था पनि गम्भिर भइरहेका बेला प्रधानमन्त्री देउवाले समस्या समाधानमा अग्रसरता देखाएका हुन् ।

अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा हुने छलफलमा डा. केसीको माग सम्बोधनका लागि सरकारले गर्न सक्ने प्रयासमा केन्द्रीत हुने शिक्षा मन्त्रालयका सचिव एवम् सरकारी वार्ता टोलीका संयोजक शान्त बहादुर श्रेष्ठले जानकारी दिएका छन् । छलफलमा मुख्य तीन दलका प्रतिनिधि सहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेल, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, दुबै मन्त्रालयका सचिव र दुबै बार्ता टोलीलाई बोलाईएको छ । त्यस्तै प्रतिवेदन निर्माण समितिका संयोजक केदारभक्त माथेमा, डा. भगवान कोईराला, व्यवस्थापिका संसदको महिला बालबालिका तथा जेष्ठ नागरिक समाज कल्याण समिति सभापति रन्जु कुमारी झालाई पनि छलफलमा बोलाईएको जनाइएको छ । डा. गोविन्द केसी पक्षले सरकार माग पुरा गर्न गम्भीर नबनेको भन्दै वार्ता बहिस्कार गरेपछि २ दिनयता कुनै संवाद हुन सकेको छैन । सरकारी वार्ता टोली संयोजक श्रेष्ठले वार्तामा उठेको चिकित्सा शिक्षा ऐन पारित गर्ने कार्यक्षेत्र संसदको भएकाले सो मागमा कसरी सहमति गर्ने भन्ने बिषयमा आफूहरु नै अन्योलमा परेको बताएका छन् ।

यसैबीच अनसन लम्बिदै आज १२ औं दिन पुग्दापनि सरकारी पक्षसँग ठोस सहमतिको संकेत भने देखिएको छैन । केसीको स्वास्थ्यमा पानी र ग्लोकुजको मात्रा घट्दै गएको, तथा रिंगटा लाग्ने, छाती दुख्ने लगायतका समस्या देखिएको निगरानी गरिरहेका चिकित्सक दिब्यासिंह शाहले बताएकी छन् ।