समाचार

गणपूरक नपुगेपछि संसद बैठक स्थगित

काठमाण्डौ, २० साउन । आवश्यक गणपूरक संख्या नपुगेपछि व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन भएको छ ।

‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन, विधेयक २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा बैठकमा नेमकिपाका डिल्लीप्रसाद काफ्लेले बैठकमा गणपूरक संख्या नपुगेको भनी नियमापत्ति जनाएका थिए । काफ्लेको नियमापत्तिपछि सभामुख ओनसरी घर्तीले गणपूरक संख्या यकिन गर्नका लागि तीन मिनेट जनाउ घण्टी बजाउन संसद् सचिवालयलाई निर्देशन दिएपनि सो अवधिमा संख्या गणना गर्दा ९७ सदस्यको मात्रै उपस्थिति देखिएपछि बैठक स्थगन गरिएको हो ।

नेपालको संविधान धारा ९४ अनुसार संसद्को बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा कायम संख्याको कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्छ । सो अनुसार संसदमा हाल कायम सदस्य संख्या मध्ये १ सय ४९ सदस्य उपस्थित हुनुपर्छ । बैठकमा गणपूरक संख्या नपुगेपछि आजको कार्यसूचीमा रहेका संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित हुन सकेनन् ।