२१ जेठ, काठमाडौं । राप्रपाबाट १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। केन्द्रीय पदाधिकारीसहित ठूलो संख्यामा नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन्।
पार्टी छोड्ने समूहमा महामन्त्री डा. धवलशमशेर राणा पक्षधर नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठलगायत रहेका छन्। उनीहरूले नेतृत्वले पार्टीको मूल सिद्धान्त र उद्देश्यबाट विचलन गरेको आरोप लगाएका छन्।
विज्ञप्तिमा उनीहरूले पार्टी केन्द्रीय कार्यसमितिलाई जानकारी नै नदिई राप्रपा सरकारसँग जोडिएको भन्दै आपत्ति जनाएका छन्। साथै, पार्टीलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रमसँग जोडिएको विषयलाई पनि विवादको कारण बनाइएको छ।
असन्तुष्ट पक्षले पार्टीभित्र स्वेच्छाचारिता बढेको, नेताहरूलाई निरंकुश शैलीमा कारबाही गरिन थालेको तथा संगठनात्मक लोकतान्त्रिक अभ्यास कमजोर भएको आरोप समेत लगाएका छन्।
उनीहरूले राजसंस्था पुनर्स्थापनाको एजेन्डा कमजोर बनाइएको र आन्दोलनहरू बारम्बार निष्क्रिय बनाइँदै गएको दाबी गर्दै पार्टी परित्याग गर्नु परेको बताएका छन्।
यो सामूहिक राजीनामासँगै राप्रपाभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ।
पार्टी परित्याग गर्नेको सूची:











